अमृतप्रसाद पौडेल
म्याग्दी, माघ ८ गते । म्याग्दीको बेनीमा सम्पन्न खुला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका र प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबलको उपाधि बेनी नगरपालिकाले जितेको छ ।
बेनीमा मङ्गलबार आयोजित पुरुष भलिबलको फाइनलमा बेनी नगरपालिकाले मालिका गाउँपालिकालाई ३–१ को सेटमा हरायो । बेनीले १७–२५, २८–३०, २५–१६, १६–२५ को जित निकालेको थियो ।
उपाधिसँगै बेनीले एक लाख ५१ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता मालिका गाउँपालिकाले ७५ हजार एक सय रुपियाँ पायो । यस्तै महिलाको फाइनलमा अन्नपूर्णले एसएसवाइसी मालिकालाई हरायो ।
अन्नपूर्णले २५–२२, २२–२५, २५–२०, २५–१६ को जित निकालेको थियो । महिलातर्फको विजेतालाई ७५ हजार र उपविजेतालाई ४० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । गत पुस २८ गते सुरु भएको आठौँ म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेलाको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।