• ८ माघ २०८१, मङ्गलबार

सहकारी ठगीको प्रताडनामा परेका गाई गोठालोको जिम्मामा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ ८ गते । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको लालीगुराँस गाई फार्म ‘गोठालो’ को जिम्मा लगाइएको छ । 

महिनौँसम्म घाँस, दानापानीको अभावमा बाँधेकै ठाउँमा गार्ई मर्न थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले गाई फार्म सञ्चालनको जिम्मा एसएन एग्रिबिजनेसलाई दिएको हो । सहकारीको बचत रकम अपचलन, ठगी र दुरुपयोगको प्रताडनाबाट अबोध पशु बाँधेकै गोठमा मर्न थालेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एसएन एग्रिबिजनेस प्रालिलाई गाई फार्म सञ्चालनको जिम्मा दिएको हो । 

समितिका सदस्यसचिव केशवप्रसाद पौडेलका अनुसार ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टरमा पालिएकामध्ये २६४ वटा गाई, १६ बाच्छाबाच्छीको जिम्मा एसएन एग्रिबिजनेसलाई दिइएको हो । 

फार्ममा भएका ४१५ वटा गाईमध्ये १० वटा बाँधेकै ठाउँमा मरेका थिए । त्यसै गरी पशु सेवा कार्यालयको टोलीले अध्ययन र निरीक्षणका लागि पठाउँदा ११९ वटा गाईमा बाँझो र अनुत्पादक भएको पाइएको थियो । यसअघि गोरखापत्र दैनिकमा पुस २२ गते ‘सहकारी अपचलनको परिणाम, ठगीको प्रताडनामा गाई पनि !’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । त्यसलगत्तै समितिले गाई व्यवस्थापन प्रारम्भ गरेको थियो । 

मासिक भाडा बुझाउने 

सदस्यसचिव पौडेलका अनुसार सहकारी व्यवस्थापन समितिले एग्रिबिजनेससँग गरेको सम्झौतामा २६४ वटा गाई १६ वटा बाच्छाबाच्छीको एक करोड २५ लाख ३५ हजार पाँच रुपियाँ मूल्याङ्कन गरिएको छ । उक्त रकम समस्याग्रस्त व्यवस्थापन समितिको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको शाखामा जम्मा गर्ने भनिएको छ । 

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको १० बिघा र प्रिसा इन्भेस्टमेन्ट कम्पनीको सात बिघा गरी १७ बिघा जमिन र त्यहाँ रहेका उपकरण, संरचना, सवारीसाधन प्रयोग गरेबापत सात लाख रुपियाँ बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । 

गाई फार्म रहेको संरचना जग्गा, उपकरण, कम्प्युटर मेसिन, फार्मबाट पेस भएका विवरण अनुसारका नियमित मर्मतसम्भार रेखदेख गर्नुपर्ने दायित्व पनि सोही कम्पनीलाई दिइएको छ । 

सम्झौतापत्रमा कम्पनीले समितिबाट निर्णय नहुञ्जेलसम्मका लागि संस्थामा रहेका संरचना, जमिन, उपकरण, सवारीसाधन प्रयोग गर्न पाउने उल्लेख छ । 

लालीगुराँस बहुउद्देश्यीय सहकारीले चार हजार ५२८ बचतकर्ताको सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन, ठगी र बचत दुरुपयोग गरेको उजुरी 

समितिमा परेको छ । सरकारले २०८० फागुन २९ गते लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । त्यसपछि उक्त गाई फार्ममा रहेका गाईको बिजोक भएको हो । सहकारीका अध्यक्ष अमरदास श्रेष्ठसहित सहकारी सञ्चालक असार दोस्रो साता पक्राउ परे पनि छुटिसकेका छन् ।