• १३ साउन २०८१, आइतबार

७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकेका छौँ : मन्त्री रेग्मी

blog

काठमाडौं, जेठ ११ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले आफ्नो पद बहालीपछि समाज कल्याण परिषद्मा विभिन्न बहानामा रोकिएका परियोजनाहरू स्वीकृत गरिएको बताउनुभयो ।

मन्त्री रेग्मीले बताउनुभयो, “कुनै पनि परियोजना यो वा त्यो बहानामा रोकिनु हुन्न, यो सात महिनामा हामीले रोकिएर बसेका परियोजनाहरू अध्ययन गरेर पारित गरेका छौँ ।’’

उहाँले समाज कल्याण परिषद्लाई  पारदर्शी र जनमुखी बनाउन पूर्णरूपमा डिजिटलाइज गरिनेसमेत बताउनुभयो । उहाँले बताउनुभयो, “परिषद्मा अनावश्यक रूपमा फाइल रोकिने गरेको गुनासो छ, अब  कुनै बार्गेनिङ चल्दैन, यसलाई अन्त्य गर्न समाज कल्याणको पुरै सिस्टम प्रविधि मैत्री बन्नेछ ।’’ उहाँले समाज कल्याण लाई प्रविधि मैत्री बनाउन सरकारी र गैर सरकारी संस्थाहरूलाई सहयोगको आह्वान समेत गर्नुभयो ।

कार्यक्रममा मन्त्री रेग्मीले एनजिओले सीप तथा आयमूलक कार्यक्रमहरू आयोजना गरेर महिलाहरूलाई उत्प्रेरित गराउनुपर्ने बताउनुभयो । उहाँले विशेष गरी महिलालाई उद्यमी बनाउन  देशैभरि उद्यमशीलता सम्बन्धी तालिम आवश्यक छ भन्नुभयो । मन्त्री रेग्मीले महिलाहरूलाई उद्यमी बनाउन आगामी बजेटमा विशेष कार्यक्रम मार्फत बजेट विनियोजन गरिएको समेत बताउनुभयो ।