दिल्ली, माघ ६ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताउनुभएको छ।
नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बिपी विचार र प्रवासी समस्या विषयक छलफल, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताउनुभएको हो।
डा. महतले भन्नुभयो, ‘भारतमा रहेका प्रवासी नेपालीले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरुले आगामी दिन खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु।’
डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिनुभएको छ। उहाँले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हाबी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा बोल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले कांग्रेस गठबन्धन बनेको बताएका छन्। सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने प्रष्ट पार्नुभयो।