गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ६ गते । सानैदेखि नृत्यमा रुचि राख्नुहुने उत्साह घिमिरे अहिले म्युजिक भिडियोको मोडलिङमा रमाइरहनुभएको छ । ‘चाउचाउ नि खाएँ’ तिज गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गर्नुभएकी घिमिरेले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसक्नुभयो ।
आयौँ चेली माइती सम्झेर, सुन्दर बजार कटेसी, पोखरामा साइँली, जून बनेर आउनु तिमी, जसलाई मैलेलगायतका थुप्रै म्युजिक भिडियोमा उहाँको अभिनय देख्न सकिन्छ । नृत्यमा पारङ्गत उहाँले आधुनिक, लोकलगायत सबैखाले गीतमा नृत्य गरिसक्नुभएको छ । जस्तोसुकै भूमिकामा पनि न्याय गरेर अभिनय गर्न सक्नु उहाँको विशेषता हो ।
बागलुङ नगरपालिका–९ मा जन्मिनुभएकी उहाँले बाल्यकाल सम्झिँदै भन्नुहुन्छ, “कसैले गीत गाउँदा मेरा खुट्टा नाच्नका लागि अगाडि सरिहाल्थे । नृत्यसम्बन्धी कार्यक्रममा पनि प्रायः पुरस्कार लिएरै घर आउँथेँ ।” आफू कलाकारितामा लाग्नुमा मामाघरतिरको प्रभाव धेरै रहेको उहाँ बताउनुहुन्छ । “मामाघरका परिवार साङ्गीतिक क्षेत्रमा हुनुहुन्थ्यो । उहाँहरूकै साथ र सहयोगले यहाँसम्म आउन प्रेरणा मिल्यो,” उत्साहले भन्नुभयो ।
कलाकारितामा लागेर उहाँले थुप्रै अवार्ड तथा पुरस्कारसमेत पाइसक्नुभएको छ । । राप्ती म्युजिक अवार्ड, नाट्यश्वरी अवार्ड, एपिक म्युजिक अवार्डबाट उहाँ सम्मानित भइसक्नुभएको छ भने विराट म्युजिक एन्ड फिल्म अवार्ड, ज्योति म्युजिक फिल्म अवार्डमा उहाँले निर्णायकको भूमिकामा देखिनुभएको थियो ।
उहाँले मोडलिङ गर्नुभएका केही म्युजिक भिडियो आउने तयारीमा छन् । केही भिडियोमा काम गर्नका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । ‘सानैदेखि रुचिको क्षेत्रमा लागेर दर्शकबाट माया पाउँदा, कामलाई रुचाइँदा एकदमै हौसला मिलेको छ । आउँदा दिनमा पनि यस्तै माया पाइरहने विश्वास लिएकी छु,” उहाँले भन्नुभयो ।
यस्तै उहाँले आठौँ राप्ती म्युजिक अवार्ड (पब्लिक च्वाइस) मा सर्वाेत्कृष्ट मोडल महिला तेस्रो नाट्यश्वरी अवार्ड, सर्वाेत्कृष्ट मोडल महिला चौथो एपिक म्युजिक अवार्ड, सर्वाेत्कृष्ट मोडल महिला प्रथम जय प्राप्ति म्युजिक अवार्ड, नागरिक क्रियसन बेस्ट अवार्ड पाइसक्नुभएको छ । उहाँ पुष्पाञ्जली शरद मेला, रामेछाप सांस्कृतिक कलाकार समाज, एक्टिभ इन्टरनेसनल प्रालि, नेप्को इन्टरटेनमेन्ट राष्ट्रिय कलाकारिता र नागरिक समाजबाट सम्मानितसमेत हुनुभएको छ । घिमिरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र विन्ध्यवासिनी फाउन्डेसनमा आजीवन सदस्य पनि हुनुहुन्छ ।