• ६ माघ २०८१, आइतबार

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

blog

बर्दियाको बाँसगढी नगरपालिका–२ राँझाटापुस्थित मध्यवर्ती क्षेत्रमा रहेको स्वर्गद्वारी सामुदायिक वनको हरियालीले वरपरबाट घेरिएको च्यामा ताल । तस्बिर : रासस

जनकी (बाँके), माघ ५ गते । नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न जानुभएकी उहाँ घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाउनुभयो । “छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो”, उहाँले भन्नुभयो ।

मध्यवर्ती क्षेत्रमा रहेको स्वर्गद्वारी सामुदायिक वनको हरियालीले वरपरबाट घेरिएको च्यामा ताल बर्दियाको बाँसगढी नगरपालिका–२ राँझाटापुमा पर्दछ । उहाँले अरूलाई पनि च्यामातालको मनमोहक दृश्य हेर्न जान आग्रह गर्नुभएको छ ।

पूर्णिमा जस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ की सङ्गीता थापाले पनि आफू प्रायः वनभोजका लागि च्यामा सिमसार क्षेत्रमा आउने गरेको बताउनुभयो । प्राकृतिक सुन्दरता र शान्त वातावरणमा रमाउन रूचाउने सङ्गीता साथीभाइ र परिवारसहित घुम्न होस् या वनभोजका लागि होस् च्यामाताल नै जाने गरेको बताउनुहुन्छ । “प्रकृतिमा रमाउन मनपर्ने भएको हुनाले म यहाँ नियमित नै आउँछु”, उहाँले भन्नुभयो, “यहाँको सुन्दरताले नै मनलाई लोभ्याउँछ । र यहाँ आएपछि बेग्लै प्रकारको खुसी मिल्छ ।”

च्यामा तालमा परिसरमा वनभोजका लागि आउनुभएका बर्दिया बढैयाताल–४ का श्यामकुमार पौडेलले पनि पूर्णिमा र सङ्गीतालाई जस्तै उक्त तालले मनमोहक बनाएको बताउनुहुन्छ । च्यामातालका बारेमा आफूले सुनेको तर पहिलो पटक साथीसँग घुम्न आएको बताउँदै उहाँले भन्नुभयो, “म यही जिल्लाको भए पनि यहाँ पहिलो पटक आएको हुँ । साथीहरूले सुनाएको जस्तै सुन्दर र आकर्षक रहेछ ।”

च्यामाताल सिमसार क्षेत्रमा वनभोजका जानेका लागि बाँसगढी नगरपालिकाले रु ३० लाखको बजेट खर्चिएर वनभोज स्थल बनाएको वडा नं २ का वडाध्यक्ष अर्जुन खड्काले बताउनुभयो । उहाँका अनुसार विसं २०६२/६३ तिर उक्त ताल भएको ठाउँमा पानीको मुहान थियो, जमिन भासिन्थ्यो । त्यसरी भासिएको ठाउँलाई संरक्षण गर्न सामुदायिक वनले केही बजेट खर्च गरेर वरपर निश्चित घेरा लगाएर बाँध बाँधेर ताल तलैया बनाएको हो ।

विसं २०७४ मा बाँसगढी नगरपालिकाले आफ्नै खर्चमा ताललाई सिमसारका रूपमा घोषित गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज र नगरपालिकाको संयुक्त आयोजनामा च्यामातालको नामकरण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार हाल उक्त च्यामातालमा दिनप्रतिदिन आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ ।

बाँसगढी नगरपालिका निर्वतमान प्रमुख सालिकराम अधिकारीले विसं २०७४ मा च्यामाताल र वनभोज स्थलको उद्घाटन गर्नुभएको थियो । उहाँले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यताको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न समुदायले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । तालको विकास र संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी समुदायको भएकाले तालको सरसफाइ, व्यवस्थापन, संरक्षण र प्रवर्द्धनमा समुदायले नै चासो देखाउनुपर्ने उहाँको भनाइ थियो ।

वडाध्यक्ष खड्काका अनुसार उक्त च्यामातालमा भित्रदेखि पानी निस्कने र चौबिसै घण्टा पानी भइरहने भएकाले वन्यजन्तु पानी खान आउने गर्दछन् । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । जसको लम्बाइ ११ सय मिटर रहेको छ भने चौडाइ आठ सय मिटर छ । तालको प्रचारप्रसारमा सहज होस् भन्ने उद्देश्यले बाँसगढी नगरपालिकाको लोगोमै च्यामा सिमसार क्षेत्रालाई समेटेको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जङ्गली जनावर र विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान रहेको च्यामाताल सिमसार क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वनभोज स्थल बनाइएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तर लखना चोक हुँदै झण्डै १२ किलोमिटरको दूरीमा च्यामाताल अवस्थित छ । च्यामातालमा रमाउन बाँके र बर्दियासँग जोडिएका जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गर्दछन् । रासस