• १२ असार २०८१, बुधबार

नदीजन्य पदार्थ उत्खननमा रोक

blog

महेन्द्रराजमार्ग नजिक कान्द्रा नदीमा डोजर लगाएर बालुवा उत्खनन् गर्दै ।

चाँदनी आचार्य
घोडाघोडी(कैलाली), जेठ ११ गते ।
कैलालीको घोडाघोडी नगरपालिका–१० कान्द्रा नदीको पुल नजिकै सर्त विपरीत नदीजन्य पदार्थको उत्खनन हुन थालेपछि नगरपालिकाले रोक लगाएको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थित रहेको कान्द्रा नदीमा बनेको महेन्द्रराजमार्ग जोड्ने पुलको नजिकै नदीजन्य पदार्थको उत्खनन् कार्य भएको भन्दै सर्त विपरीत भएको कार्य रोक्न ठेकेदार कम्पनी विन्द्रा सन्स निर्माण कम्पनीलाई लिखित आदेश गरेको छ ।

चालु आर्थिक वर्षका लागि घोडाघोडी नगरपालिकामा रहेका कान्द्रा टेगना, कन्द्री, डोडा र भिङ्गे नदी तथा खोलामा ढुङ्गा, बालुवा गिट्टी, ग्राभेल, भरान आदिको कर उठाउने कार्यको ठेक्का प्रक्रियाबाट गत असोजमा सम्झौता गरी उक्त कम्पनीलाई जिम्मा दिइएको थियो ।

राजमार्ग र पुलको उत्तर दक्षिण पाँचसय मिटरभित्र नदीजन्य पदार्थको उत्खनन गर्न नपाउने सर्त सम्झौताको बुँदा नं. २० मा भए पनि उक्त सर्त विपरीत कार्य भएको पाइएकोले तत्काल उत्खनन कार्य रोकी जेठ १५ गतेभित्र कार्यालयमा उपस्थित ठेक्का कम्पनीलाई जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले जनाउनुभयो ।