काठमाडौं, माघ ४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भारतका महामहिम राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्यलगायतका विषयमा छलफल भयो ।
उपराष्ट्रपति यादवले नेपाल र भारतबिच सौहार्द, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवम् बृहत् सम्बन्ध रही आएको बताउनुभयो । ‘‘दुई देशबिचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’’ उहाँले भन्नुभयो, ‘‘नेपाल र भारतबिच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवम् जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौं पुरानो परम्परा छ ।’’
उपराष्ट्रपति यादवले हालैका वर्षहरुमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । ‘‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फस्र्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई दिएको प्राथमिकता र महत्त्व प्रतिविम्बित हुन्छ’’ उहाँले भन्नुभयो, ‘‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुशी छौं ।’’
उहाँले उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा दुई मुलुकबिचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गर्नुभएको नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरुको बैठकले दुई देशबिच आपसी विश्वास र सहयोगको वातावरण बनेकोमा हर्षित छु ।’’
उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै हामीले भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताउनुभयो । ‘‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत् तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्त्वपूर्ण छ’’ उहाँले भन्नुभयो, ‘‘निकट छिमेकीका रुपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।’’
उहाँले नेपालको विकास प्राथमिकताहरुमा हरित, दिगो र समावेशी आर्थिक विकास हासिल गर्नुका साथै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन र मानव संसाधन विकास रहेको बताउनुभयो । ‘‘सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस सङ्क्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्नेछ’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न वस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि हाम्रा प्राथमिकतामा छन् ।’’
उहाँले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले नेपाल र भारतलाई शताब्दीयौंदेखि जोडेको उल्लेख गर्नुहुँदै हामीले दुई मुलुकका जनताको बृहत्तर लाभका लागि स्रोतहरूको संरक्षण र परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भेटमा हाम्रा दुई मुलुक सार्क, विम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसङ्घ जस्ता बहुपक्षीय मञ्चहरूमा पनि निकट रुपमा सहयोग र सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले भारतको ७६ औं गणतन्त्र दिवस (२६ जनवरी) को अवसरमा राजदूतमार्फत भारतीय जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
भारतीय महामहिम राजदूत नवीन श्रीवास्तवले भारतले ‘नेबरहुड फर्स्ट’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्नुहुँदै गहु्ँ निर्यातमा प्रतिबन्धका बाबजुद नेपालाई दुई लाख टन गहुँ निर्यातका लागि अनुमति दिएको बताउनुभयो । उहाँले भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुने गरी एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको जनाउँदै नेपाललाई भारतले एक हजार चौंसठी मेगावाट बिजुली आपूर्ति गरिरहेको र बाढीका बेला १० वटा बेलीब्रिज पनि हस्तान्तरण गरेको बताउनुभयो ।