अनिल पराजुली
हेटौँडा, माघ ३ गते । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व नपाएको गुनासो गरेका छन् । कबुलियती वन क्षेत्रमा बसोबास गर्ने २३ घरधुरीका ९४ वनकरियाले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व नपाएको गुनासो गरेका हुन् ।
सरकारले २०६२ मा कबुलियती वनको १० विघा जमिन भोगचलनको लागि यहाँको वनकरिया समुदायलाई दिएको थियो । आगामी तीन महिनापछि अर्थात् २०८२ सालपछि यो सम्झौता सकिन लाग्दा आफ्नो समुदायको स्वामित्वमा जग्गा नभएकाले समस्या परेको वनकरिया समुदायकी अगुवा सन्तोषी बनकरियाले जानकारी दिनुभयो । कार्यक्रममा सन्तोषी, सङ्गीता, राम, कुमार वनकरिया र विष्णुबहादुर प्रजाले यहाँको समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
वनकरिया सामुदायिक भवन हाँडिखोला मुसेधाप बस्तीमा बिहीबार मकवानपुरगढी सञ्चारप्रालिको आयोजना एवम् नर्वेनियम दूतावास काठमाडौँ र संसद सहयोग परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा यहाँका वनकरियाले बर्षैदेखि जग्गाको भोगचलन गर्दै आएपनि त्यसको स्वामित्व पाउन नसकेको गुनासो पोख्नुभएको हो । पर्सा राष्ट्रिय निकुञ्जले तीन महिनापछि बसोबासको सम्झौता सकिएपछि स्थान खाली गर्न दबाब दिए फेरि जङ्गल फर्कनुपर्ने बाध्यता आइपर्ने सन्तोषीको भनाई छ । पटक पटक जनप्रतिनिधिहरूले यहाँको समस्या समाधान गर्ने वचनबद्धता जनाए पनि समस्या भने जस्ताको त्यस्तै रहेको वनकरिया समुदायले बताएका छन् ।
कार्यक्रममा युएनडिपीका नीति तथा कार्यक्रम समर्थन व्यूरोे उपसहायक प्रशासक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअपले वनकरिया समुदायका समस्याहरू सांसदहरू र आफूले बुझेको बताउनुभयो। कार्यक्रममा सहभागी सांसदहरूले पनि वनकरियाहरुका समस्या बुझ्नु भएकाले अब नीति निर्माण तहमा काम गर्नेमा आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।
लोपोन्मुख जाती वनकारिया समुदायको समस्या समाधानका लागि बागमती प्रदेश सभा र प्रदेश सभाको समिति मार्फत समाधान गर्ने प्रतिबद्धता जनाइएको छ । वनकरिया समुदायका विविध सवालहरूमा जनप्रतिनिधि र जनताबिच अन्तर्संवाद कार्यक्रममा सहभागी प्रदेश सांसदहरूले वनकरिया समुदायको न्यायका लागि पहलकदमी चाल्ने प्रतिबद्धता जनाउनुभएको हो ।
निकुञ्ज क्षेत्रको जग्गामा बसोबास गर्दै आउनुभएका वनकरिया समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराउन पहल गर्ने प्रदेश सभा सांसद तथा प्रदेश समितिका सभापति र सदस्यहरूले प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य कुमारी मोक्तान, सार्वजनिक लेखा समिति सदस्य गिरबहादुर तामाङ, अर्थ तथा विकास समितिका सदस्य सुना परियार र शिक्षा समिति समिता खड्कीले वनकरिया समुदायको सवाललाई सम्बोधन गर्न सक्दो पहलकदमी गर्ने प्रतिबद्धता जनाउनुभएको छ।