वालिङ समाचारदाता
वालिङ, माघ ४ गते । लालपुर्जाको पर्खाइमा बर्सौंदेखि बसेका माझी तथा बोटे समुदाय भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै खुसी भएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी, आँधीमुहानमा बस्दै आएका ती समुदायका परिवार उत्साहित भएका हुन् ।
कालीगण्डकी गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय प्रेम माझीले भन्नुभयो, “अब त आफ्नै नाममा लालपुर्जा पाइन्छ कि भन्ने आशा पलाएको छ ।” भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै आफूहरू उत्साहित भएको उहाँको भनाइ छ । आफूहरू जस्तै भूमिहीन सुकुमवासी तथा अव्यवस्थित रूपमा कष्टकर जीवन बिताउने नागरिकलाई राहत मिल्ने माझीले बताउनुभयो । विगतमा जटिल बनेका भूमि समस्या र भूमिहीन समुदायको समस्याको समाधान हुनेमा आफूहरूलाई विश्वास रहेको उहाँको भनाइ छ ।
गुठी संस्थानको नाममा रहेको जग्गामा ती समुदाय बस्दै आएका हुन् । माछा मार्ने, स्टिमर चलाउने कामसँगै ज्यालामजदुरी गर्दै आएका बोटे समुदायसँग आफ्नै नामको जग्गा र त्यसको लालपुर्जा नहुँदा अनेकौँ समस्या बेहोर्दै आएको स्थानीय मुना बोटेले बताउनुभयो । आफूहरू जस्ता समस्यामा परेकालाई पहिलो प्राथमिकतामा राखेर काम गरिदिन उहाँको अनुरोध छ ।
आफूहरूको नाममा जग्गा नहुँदा नेपाली नागरिक नै नभएको हो कि भन्ने महसुस भएको उहाँको दुःखेसो छ । लालपुर्जा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएको उहाँले बताउनुभयो । लामो समयदेखि ती समुदाय यो क्षेत्रमा बसोबास गर्दै आएका भए पनि हालसम्म लालपुर्जा पाउन नसकेको कालीगण्डकी–७ का वडाध्यक्ष उमप्रकाश भट्टराईले बताउनुभयो । कालीगण्डकी गाउँपालिकाले ६५ घरधुरीको विवरण भूमि आयोग तथा प्रदेश सरकारलाई पठाएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासङ्घका महासचिव खिमबहादुर थापाले बताउनुभयो ।