• १२ असार २०८१, बुधबार

पाठ्यपुस्तकको पर्खाइमा विद्यार्थी

blog

शेरबहादुर सार्की
बाजुरा, जेठ ११ गते ।
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चानमा आएका भए पनि समयमै किताब नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् ।

यो वर्ष भर्ना भएका विद्यार्थीहरुलाई इन्टरनेटको सहायताले ह्वाइट बाेर्डमा लेखेर पढाइ गर्न बाध्य छन् ।

बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ धुरालसैन माविका प्राधानाध्यापक महासिंह थापाले भन्नुभयो, “नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरुलाई भर्ना त लियौ तर अहिलेसम्म पाठ्यपुस्तक आइनपुग्दा पढाउन समस्या भएको छ ।’’

उहाँले भन्नुभयो, “भर्ना भएसँगै विद्यार्थीहरु नियमित कक्षामा आउने गरेका छन् तर विद्यालयमा किताब छैन किताब नहेर कसरी पढाउने अन्येलमा छौँ ।’’

उहाँले कक्षा एक, दुई, तीन, पाँच र आठ कक्षासम्म त पुराना किताबले पढाउने गरेको बताउनुभयो ।

चार, सात, नौ कक्षाको पाठ्यक्रम नयाँ भएकोले सो कक्षाका विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको प्राधानाध्यापक थापाले बताउनुभयो ।

यसैगरी, छेडेदह गाउँपालिकाको ७ मा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक नुहुँदा त्यहाँ पनि विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको शिक्षक मनोज नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्ष कोरोनाका कारण पढाइ भएन अहिले कोरोनाको कहर छैन । यो वर्ष विद्यार्थीहरुलाई नियमितरुपमा पढाइ गर्नुपर्छ भन्ने योजनामा थियौ तर अहिलेसम्म किताब नआइपुगेकोले बनाएको योजना पनि सफल नहोला जस्तो छ ।’’

पछिल्लो समयमा अधिकांश विद्यार्थीहरु पढाइमा निकै कमजोर छन् । शिक्षक नेपालीले भन्नुभयो, “विद्यार्थीहरु पढाइमा कमजोर हुनुको मुख्य कारण कोरोनाको कहरले विद्यालय बन्द हुनु कहिले विद्यालयमा  शिक्षकको कमी हुनु र समयमै पाठ्पुस्तक नपाइनुले विद्यार्थीको पढाइ कमजोर भएको हो ।’’

दुई, तीन वर्ष कोरोनाको चपेटामा परेर पढाइमा कमजोर भइयो अब त कोरोनाको कहरबाट मुक्त भयौँ । नियमित विद्यालयमा गएर पढाइ गर्नुपर्यो भनेर भर्ना भएँ, अहिलेसम्म किताब आएका छैन । यो वर्षमा पनि पढाइ निकै बिग्रिने डर भयो धुरालसैन माविका कक्षा सातमा अध्ययनरत छात्र पदम नेपालीले बताउनुभयो ।

पाठ्यपुस्तक नबदलिएको कक्षाका लागि त पुरानै किताबले पढाइ गरेका छौ । बदलिएको कक्षाका लागि भने इन्टरनेटको सहायताले पढाइ गर्नुभन्दा अर्को विकल्प छैन ।

तर विद्यालयलमा इन्टरनेटको सुविधा नै छैन अनि कसरी इन्टरनेटको प्रयोग गरेर पढाइ गर्ने सरस्वती प्राविका शिक्षक मनोज नेपालीले बताउनुभयो ।

कक्षा एक दुई तीन कक्षाको पाठ्पुस्तक वितरण भइरहेको र बाँकी किताब छापाखानामा नै छापिन बाँकी रहेकोले यहाँ नआपुगेको कारण विद्यालयलाई उपलब्ध गराउन नसकोको बाजुरा डेल्टा स्टोरका पुस्तक बिक्रेता चन्दबहादुर खातीले बताउनुभयो ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका झण्डै २७४ विद्यालयले विद्यार्थी भर्ना लिइर सञ्चानमा समेत आएको शिक्षा विकास तथा शिक्षा एकाइ बाजुराले जनाएको छ ।

यो वर्ष मतपत्र छपाइको कारण किताब छाप्न ढिलाइ भएकोले विद्यालयले समयमै पाठ्यपुस्तक नपाएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सयोजक हर्कबहादुर सिंहले बताउनुभयो ।

बाजुरामा तीन वटा क्याम्पस, ६५ मावि र २०९ आधारभूत विद्यालय छन् ।