तम्घास समाचारदाता
तम्घास, माघ ४ गते । बर्सौंदेखि वनमाराले ढाकेको शिरकोटको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–१, शिरकोटमा बर्सौंदेखि बाँझो भएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर ५४० रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गरेका हुन् ।
अहिले तीन सय बिरुवाले उत्पादन दिएकाले ४० क्विन्टल किवी बिक्री गरेको युवा व्यवसायी लक्ष्मीपति न्यौपानेले जानकारी दिनुभयो । प्रतिकिलो तीन सय रुपियाँका दरले किवी बिक्री गरेको उहाँले बताउनुभयो ।
किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको बुटवलमा लगेर बिक्री गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष किवी बिक्रीबाट करिब १२ लाख रुपियाँ आम्दानी भएको छ ।
बर्सौंदेखि बाँझो भएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी ५४० रोपनी क्षेत्रफलमा छ हजार सात सय बिरुवा रोपेर व्यावसायिक रूपमा किवी खेती गरिएको उन्नतिशील कृषि फलफूल तथा पशुपन्छी कृषक समूहका अध्यक्ष पदमपाणि पाण्डेले बताउनुभयो ।
सुरुमा किवी खेतीबारे सुनेको मात्रै भए पनि पछि यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरूले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उहाँको भनाइ छ ।
विदेश नजान आग्रह
पछिल्लो समयमा युवाशक्ति विदेश पलायन हुने गरेको र देशमा सम्भावना भए पनि सम्भावनाको खोजीमा लाग्ने चेष्टा नगरेको समूहका सदस्य तथा कृषक लक्ष्मीपति न्यौपाने बताउनुहुन्छ ।
आफूहरूले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीबारे अध्ययन अवलोकन गरी शिरकोटमा पनि सम्भावना देखेर खेती गर्ने आँट लिएको उहाँको भनाइ छ ।
आफूहरूले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानबाट कृषक समूह, सहकारी आउने गरेको र किवी खेतीबारे अनुभव आदानप्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
युवालाई विदेश जानुभन्दा पनि स्वदेशको माटोबाटै मनग्गे उत्पादन र आम्दानी गर्न सकिने भएकाले अर्काको देशमा जान रहर नगर्न र स्वदेशमा नै रहेको सम्भावनाको खोजीमा लाग्न उहाँले सुझाव दिनुभयो । पैसा र आम्दानी खाडीमा भन्दा पनि स्वदेशकै झाडीमा रहेको उहाँको धारणा छ ।
२०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरुवात भएको मानिन्छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटरभन्दामाथिको भूभागमा किवी खेती हुने गर्दछ ।
जिल्लामा एक हजार दुई सय मिटरमाथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसीकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तहमा खेती गर्नयोग्य स्थान छन् ।