गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ४ गते । होटेल व्यवसायीले नेपालमा पर्यटकको सङ्ख्या बढाउन पूर्वाधार सुधार गर्न सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा बुधबार आयोजित नेपाल सत्कार दिवसका अवसरमा व्यवसायीले नेपालका होटेलको क्षमताको एक तिहाइ मात्र प्रयोग भइरहेकाले यस्तो सङ्ख्या बढाउन पर्यटकलाई आवतजावत सहज बनाउनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय लागिपरेको जानकारी गराउनुभयो । उहाँले निजी क्षेत्रसँगको समन्वयबिना पर्यटनलाई अगाडि बढाउन नसकिने भएकाले मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।
सो अवसरमा होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अस्तव्यस्त राजमार्ग भएर लामो यात्रा गर्नुपर्ने भएपछि बिदा मनाउन र रमाइलो गर्न पर्यटक नआउने बताउनुभयो । गत वर्ष भएका हवाई तथा सडक दुर्घटना साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली हवाई सेवाप्रदायक रहेकाले समस्या झन् बढेको उहाँको भनाइ थियो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कले देशमा एक लाख ४२ हजारभन्दा बढी होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका र त्यसबाट करिब ३५ लाख पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सकिने तथ्यले नेपालको पर्यटन बजारमा उत्साहवर्धक आपूर्तिको स्थिति रहेको बताउनुभयो । त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेकाले पर्यटकलाई आकर्षित गर्न पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र सञ्चालनमा आउने क्रममा रहेका ठुला तथा साना होटेलले अझ बढी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने बताउनुभयो । यद्यपि कतिपय होटेल र लज बिनादर्ता सञ्चालनमा रहनु दुःखद भएको उहाँको भनाइ थियो । यसलाई राज्यबाट कानुनी दायरामा ल्याउनुपर्ने उहाँको सुझाव थियो ।
होटेल सङ्घ नेपालले स्थापना दिवसका अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस मनाउँदै आएको छ । स्थापना दिवसमै सम्पन्न सङ्घको साधारण सभाले सङ्घलाई सातै प्रदेश र सतहत्तरै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकार प्रदर्शनी गरिएको थियो । त्यस्तै सङ्घले विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकलाई सम्मानसमेत गरेको थियो ।