काठमाडौँ, माघ ३ गते। बङ्गुर, सुँगुर र बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभर पुन पुष्टि भएको छ। पशुसेवा विभागका अनुसार बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही जिल्लामा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको छ।
पशुसेवा विभागका सूचना अधिकृत डा. सुधीरकुमार सिंहका अनुसार अफ्रिकन स्वाइन फिभर गम्भीर तथा अत्यन्त संक्रामक भाइरल रोग हो। यो रोगले विशेषगरी, घरपालुवा तथा जङ्गली बङ्गुरलाई प्रभावित गर्छ।
नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएपछि बेलाबेलामा बङ्गुर, सुँगुर र बँदेलमा संक्रमण पुष्टि हुँदै आएको छ।
हासम्म ४० जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भइसकेको डा.सिंहले जानकारी दिनुभयो। यो रोगबाट संक्रमित भएपछि लक्षण देखिए पनि नदेखिए पनि शतप्रतिशत बङ्गुर, सुँगुर र बँदेलको मृत्यु हुने डा. सिंह बताउनुहुन्छ।
सिंहका अनुसार यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, पातलो दिसा गर्ने, छट्पटाउने, लडखडाउने, तुहिने जस्ता लक्षण देखिने गर्छन्।
यो रोग बङगुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएमा सामग्रीको लसपस वा ओसारपसारबाट फैलने डा. सिंह बताउनुहुन्छ।
उहाँ भन्नहुन्छ,“रोगी पशुको र्याल, रगत, मलमूत्र, मासु वा यिनीहरूको लसपसमा आएका दानापानीलगायतका सामग्री मार्फत, रोगी बङ्गुर, सुँगुर र बँदेलको ओसारपसार किनबेचमार्फत, सङ्क्रमित खोरमा गएको मानिसको कपडा जुत्ता, चप्पल आदि मार्फत यो रोग सर्छ।”
यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध छैन। रोग लाग्न नदिनुनै यो रोगबाट बच्ने उत्तम उपाय हो।
हाल संक्रमण फैलिएको ठाउँमा किटाणु नासक औषधी छरेर सुरक्षित गर्ने गरेको डा. सिंहले जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ,“यो रोग विरुद्धको हालसम्म कुनै पनि औषधी बनेको छैन। लाग्न नदिन कुनै खोपको विकास भएको छैन। यो रोग लाग्नै नदिनु यो रोगबाट बच्ने उत्तम उपाय हो।”
विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुर्याउन सिफारिस गर्दै आएको छ।
यो रोग लाग्न बङ्गुर, सुँगुर र बँदेल खोरमा अनावश्यक आवतजावत नगर्ने, होटल, रेष्टुरेन्टबाट फालिएका खानेकुरा बङ्गुर, सुँगुर र बँदेललाई नदिने, तयारी दाना बाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएर मात्र खुवाउन डा.सिंहको आग्रह छ। सङ्क्रमित बङ्गुर, सुँगुर र बँदेलको मासु जथाभावी किनबेच नगर्न उहाँको सुझाव छ।
बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी भुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निसङ्क्रमणका औषधी प्रयोग गरी निसङ्क्रमण गर्न उहाँले अनुरोध गर्नुभयो। रोगको शंका लागेका पशुलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने, मरेको पशुलाई राम्रोसँग खाडलमा गाड्ने वा जलाउने, घरपालुवा बङ्गुर, सुँगुर र बँदेललाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन सिंहले आग्रह गर्नुभयो।
कुनै पनि स्थानमा ठुलो संख्यामा बङ्गुर, सुँगुर र बँदेल मरेमा वा लक्षण देखा परेमा तत्काल संघ प्रदेश र स्थानीय तहमा रहेको पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न उहाँको अनुरोध छ। साथै उहाँले बङ्गुर, सुँगुर र बँदेल पाल्दा स्थानीय सरकारको निगरानीमा मात्र पाल्न अनुरोध गर्नुभएको छ।