• ३ माघ २०८१, बिहिबार

'सार्वजनिक क्षेत्रमा निरन्तर खबरदारी आवश्यक'

blog

संसदीय पत्रकारिता हाते किताब विमोचन गर्नुहुँदै सभामुख डम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवरिरमण भण्डारी लगायत अतिथिहरु । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, माघ ३ गते । कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले पत्रकारिता क्षेत्रले सार्वजनिक जिम्मेबारीमा रहेकाहरुको निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभएको छ । 

संसदीय पत्रकार मञ्च कोशी प्रदेशले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता हाते किताब’को बिहीबार विमोचन गर्नुहुँदै सभामुख विष्टले सार्वजनिक जिम्मेवारीमा बसेकाहरुलाई ठिक ढंगबाट काम गर्न पत्रकारिता क्षेत्रले अभिप्रेरित गरिरहनुपर्ने बताउनुभएको हो । सभामुख विष्टले भन्नुभयो, "पत्रकारिता क्षेत्रले गहन जिम्मेवारी वहन गरिरहेको छ, त्यसैले पत्रकारले समाचार सम्प्रेषण गर्दा आफू नजिकका वा आफूसँग राम्रो सम्बन्ध भएकाहरुलाई प्राथमिकता दिने तर राम्रो मुद्दा उठान गर्नेहरुलाई ठाउँ नदिनेजस्तो अवस्था बनाउनु हुँदैन, कसैलाई काखापाखा नगरी सार्वजनिक जिम्मेवारी लिएकाहरुलाई निरन्तर खबरदारी गर्दै पत्रकारिता अगाडि बढ्नुपर्छ ।’"

सभामुख विष्टले माननीय र पत्रकारहरुबीच विभिन्न मुद्दाहरुमा निरन्तर अन्तरक्रिया हुन आवश्यक रहेको भन्दै त्यस्तो वातावरण बनाउन आग्रह गर्नुभयो । साथसाथै जिल्ला तहमा पनि संसदीय पत्रकारिताको अभ्यास गराउन जरुरी रहेको भन्दै पत्रकारहरुलाई आवश्यक तालिम दिने आदि काममा प्रदेशसभाबाट सकारात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । संसदीय पत्रकार मंचले प्रकाशन गरेको हातेपुस्तक उपयोगी रहेको भन्दै उहाँले थप अध्ययनपछि प्रतिक्रिया दिने बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले हाते किताब पत्रकारका लागि मात्र नभएर प्रदेशसभाका सांसदहरुका लागि समेत उपयोगी रहेको बताउनुभयो। संसदीय पत्रकार मञ्चले राम्रो सुरुवात गरेको तर पुस्तकमा केही विषय अपुग रहेको भन्दै आगामी संस्करणमा थप समृद्ध बनाउँदै लैजान सकिने बताउनुभयो । उहाँले पत्रकारहरुले संसदलाई समाचारको प्रमुख स्रोतको रुपमा लिनुपर्ने भन्दै कार्यव्यवस्था समिति, संसदीय समिति, विधेयक आदि धेरै क्षेत्रबाट पत्रकारले आवश्यक समाचार तयार पार्न सक्ने भएकोले त्यसतर्फ विशेष निगरानी गर्न पनि सुझाव दिनुभयो । 

उपभामुख सिर्जना दनुवारले कोशी प्रदेशको संसदीय पत्रकार मञ्च अन्य प्रदेशको तुलनामा सक्रिय र प्रभावकारी रहेको बताउनुभयो । उहाँले हाते किताबमा भएका विषयमा पत्रकारहरु अभ्यस्त भए पनि पुस्तिका सांसदहरुका लागि समेत उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव तथा हाते पुस्तकका सम्पादक विवेक गौतमले पुस्तकले पुस्तकको बारेमा चर्चा गर्नुहुँदै संसदीय रिपोर्टिङ गरिरहेका र नयाँ प्रवेश गर्ने पत्रकारहरुलाई संसदभित्र समाचारको स्रोत, शैली, आचरण आदि विषयमा जानकारी गराउने बताउनुभयो । 

कार्यक्रममा सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलले संसदीय पत्रकारले संघीय प्रणालीलाई अझ बलियो र अधिकार सम्पन्न गराउने तर्फ ध्यान दिएर समाचार लेख्न आवश्यक भइसकेको बताउनुभयो । कार्यक्रममा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विदुर लिंथेप, प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभयो ।