• ३ माघ २०८१, बिहिबार

कोशीमा छुट्टै राजश्व महाशाखा गठनको तयारी

blog

मुख्यमन्त्री कार्की कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, माघ ३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताउनुभएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाले आयोजना गरेको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

प्रदेश सरकारको आन्तरिक आय वृद्धिका लागि छुट्टै महाशाखा आवश्यक भएको बताउँदै महाशाखा गठन भएपछि राजश्व बाँडफाँट वापतको बजेट वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले महाशाखा गठन पछि केही अर्ब राजश्व बढाउन सकिने बताउनु भयो । नेपाली काङ्ग्रेस र एमाले बिचको सहमतिपछि बनेको सङ्घीय सरकारले आर्थिक सुधारका लागि धेरै काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, गत वर्ष १२ खर्बको लक्षमा १० खर्ब राजश्व सङ्कलन भएको थियो । चालु वर्ष १४ खर्बको लक्ष हो, १२ खर्ब पुर्‍याउन सरकार क्रियाशील छ । 

मुख्यमन्त्री कार्कीले बेलबारी नगरपालिकाले गरेको शैक्षिक प्रदर्शनीबाट छिमेकी पालिकाले समेत सिक्न सक्ने बताउँदै विद्यार्थीको उर्जा बढाउन, क्षमता वृद्धि गर्न र सीप सिकाउने सबै खाले कार्यक्रममा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री कार्कीले शिक्षक र गुरूहरूले विद्यार्थीलाई जति बढी समय दिनसक्यो । 

विद्यार्थी उत्ति नै बढी दक्ष भएर निस्कनेमा जोडदिँदै उहाँले विद्यार्थीलाई प्रयोगात्मक सीप प्रदान गर्ने कार्यक्रमहरू वार्षिक पात्रो बनाएर सञ्चालन गर्न आग्रह गर्नुभयो । हरेक विद्यार्थीमा कुनै न कुनै क्षमता हुन्छ , तर त्यो क्षमता उजागर गर्न सकिरहेका हुँदैनन् । यसखाले प्रदर्शनीले विद्यार्थीलाई क्षमता प्रदर्शनको मौका मिल्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो । 

कोशी प्रदेशका सांसद गीता तिम्सिनाले बेलबारीलाई शैक्षिक हबको रुपमा विकसित गर्न तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । 

बेलबारी नगरपालिकाका नगर प्रमुख दीलप्रसाद राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक अजम्वर राई, बेलबारी –११ का वडाध्यक्ष विक्रम राई र भुपाल बस्नेतले बोल्नु भएको थियो । माघ ६ गते सम्म सञ्चालन हुने प्रदर्शनीमा बेलबारी नगर क्षेत्रका ३१ वटा सामूदायिक  र ३६ वटा संस्थागत विद्यालयले विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् ।