• ५ जेठ २०८१, शनिबार

आमाको हत्याको आरोपमा छोरा पक्राउ

blog

फाइल तस्बिर

निशा राई
धरान, जेठ ११ गते ।
धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई छोरा सौगातले गत शनिबार धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पक्राउ परेका सौगात डिप्रेसनको बिरामी भएको र औषधि सेवन गरिरहेको बताइएको छ ।

आमालाई बाम्फोकले प्रहार गरेपछि सौगातले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए ।

गम्भीर घाइते आमा र छोरालाई बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो ।

सुवेदीलाई थप उपचारका लागि प्रतिष्ठानबाट विराटनगरको न्यूरो अस्पताल रिफर गरिएको थियो । न्यूरो अस्पतालमा उपचार हुन नसक्ने भएपछि चिकित्सकको सल्लाहअनुसार घर लैजाने क्रममा बुधबार बिहान बाटोमै सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनामा संलग्न रहेका सौगातलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।