प्रनिश गिरी
कुश्मा, पर्वत माघ ३ गते । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षबारे जानकारी गराउने व्यवस्थित पर्यटन सूचना केन्द्र छैन ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार पर्यटन सूचना केन्द्रको अभावमा जिल्ला भित्रिने आन्तरिक तथा बाह्रय पर्यटक संख्याको आधिकारीक तथ्याङ्क छैन । पर्यटन कार्यालयका प्रमुख पोषनाथ शर्माले मुलुककै पर्यटकीय गन्तव्य मानिएको पर्वतमा पर्यटन सूचना केन्द्र अति नै आवश्यक रहेको बताउँदै भन्नुभयो, "पर्वतको पर्यटन विकासका लागि तयार पारिने पर्यटन नीति, योजना र कार्यक्रमका लागि सूचना केन्द्र आवश्यक छ । सूचना केन्द्रको अभावमा पर्यटक आगमनको तथ्याङ्क पनि राख्न सकिएको छैन । पर्यटन प्रवर्द्धन कार्यक्रम गर्नका लागि आवश्यक आर्थिक बजेट समेत छैन ।"
जिल्लाको पर्यटन प्रवद्र्धनसँगै आर्थिक, सामाजि, सांस्कृति र भौतिक सम्वृद्धि गर्नका लागि पर्यटन सूचना केन्द्रको अभाव छ । दशकौ पहिलेदेखि सरोकारवाला पक्ष विच पर्यटन सूचना केन्द्रको आवश्यकताबारे छलफल भए पनि स्थापना भएको छैन ।
तत्कालिन जिल्ला विकास समितिले पर्वतको पर्यटन प्रवर्द्धनबारे २०७२ सालमा पर्वत विकास गुरुयोजना पुस्तक तयार पारेको थियो । गुरुयोजनामा पर्यटन प्रवर्द्धनका लागि योजना निर्माण अन्तर्गत पर्यटन सूचना केन्द्रको स्थापना र सञ्चालनको आवश्यकता औल्याइएको छ । पर्वतको पर्यटनसँग सम्वन्धित रही लेखिएका विभिन्न पुस्तक र कार्यपत्रहरुमा समेत पर्यटन सूचना केन्द्रको महत्व उल्लेख छ ।
पर्वत पर्यटन प्रवर्द्धन केन्द्रको पूर्व अध्यक्ष शिव प्रसाद शर्माका अनुसार कुश्मा नगरपालिका ६ मा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र रहेको भवनको माथिल्लो तलामा कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा आधुनिक प्रविधियुक्त पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालन गर्न खोजिएको थियो । अति आवश्यक हुँदाहुँदै पनि आर्थिक अभावकै कारण केन्द्र स्थापना र सञ्चालन गर्न सकिएन ।
पर्वतमा रही ३१ वर्षदेखि होटल व्यवसाय गर्दै आउनु भएका होटल एशोसिएशन पर्वतका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पर्यटकीय महत्वका क्षेत्रको विकास र प्रचारप्रसार गर्नका लागि पर्यटन सूचना केन्द्रको अभाव खड्किएको गुनासो गर्दै भन्नुभयो, "कोभिडपछि थला परेको पर्यटन क्षेत्रको विकासका थोरै भएपनि नीजि क्षेत्रको पहल छ तर स्थानीय सरकारको शून्य योगदान छ । पर्यटनको विकासका लागि स्थानीय सहित प्रदेश र केन्द्र सरकारको आर्थिक र भौतिक सहयोग हुनुपर्छ । पर्यटकलाई पर्यटकीय गन्तव्यबारे जानकारी दिन पनि सूचना केन्द्र आवश्यक छ । उद्योग वाणिज्य संघ पर्वतले पनि पर्यटन क्षेत्रको विकासमा केही चासो राख्नुपर्छ ।"
जिल्लामा कालीगण्डकी नदी र मोदीखोलामा निर्मित अग्ला झोलुङ्गे पुल, साहसिक खेलहरु बञ्जीजम्प, जिपलाइन, रक साइकिलिङ, रकक्लाइम्विङ, क्यानोइङ, कालीगण्डकी नदीमा र्याफ्टिङ लगायतले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरेका छन् ।
कुश्मा कला केन्द्रका अध्यक्ष आरके अदिप्त गिरी भन्नुहुन्छ, "सूचना केन्द्रले धौलागिरि क्षेत्रको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको पर्वतको पर्यटन प्रवर्द्धन र विकासमा महत्व राख्छ । सूचना केन्द्र नहुँदा पर्यटन क्षेत्रको समग्र विकासमा वाधा पुगेको छ । कालीगण्डकीमा अवैद्य दोहनका कारण साहसिक खेल मानिने र्याफ्टिङ गर्न मुश्किल भएको छ । प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुको उचित संरक्षणका लागि पनि सूचना केन्द्र आवश्यक छ ।"
पर्वत भित्रिने पर्यटकलाई जिल्लाका पर्यटकीय गन्तव्यबारे डिजिटल प्रणालीमार्फत् सचित्र यथार्थ जानकारी एकै स्थानबाट दिँदा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन्छ भने पर्यटकलाई समेत अवलोकन गर्न, बुझ्न सजिलो हुन्छ । आधुनिक र व्यवस्थित सूचना केन्द्रले पर्यटकका लागि सहजिकरणको काम गर्न सक्दछ।
पर्यटकीय महत्व राख्ने पर्वतमा थुप्रै लेकाली चुचुराहरु हम्पाल र कालाञ्जर पर्वतका लेकहरु, मध्य भागका पञ्चासे, डहरे तथा दक्षिणी भागका चिसापानी र गल्र्याङ छन् । पदमार्ग भई पुग्न सकिने दर्जनौ होमस्टे छन् । प्राकृतिक तथा धार्मिक महत्वका गुफाहरु, शालिग्राम महाशीला, मोदीवेनीधाम लगायत ऐतिहासिक महत्वका कोटहरु समेत छन् ।