• ३ माघ २०८१, बिहिबार

सरकारी सेवामा पहुँच बढाउँदै युवा

blog

विजयकुमार साह 

ढल्केबर, माघ ३ गते । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका युवाले पछिल्लो समय सरकारी सेवामा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् । शिक्षित युवाको सङ्ख्या बढ्दै जाँदा लोक सेवा आयोगका परीक्षा पास गरेर सरकारी सेवामा प्रवेश गर्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । 

स्थानीय दीपेन्द्र सिंहका अनुसार सुरक्षित जागिर, नियमित सेवा सुविधा र सामाजिक प्रतिष्ठासँग जोडिएकाले पनि यहाँका युवा सरकारी सेवाप्रति आकर्षित भएका हुन् । यहाँका अभिभावकले छोराछोरीलाई पढाएर दक्ष बनाउने सोच राखेका छन् । वैदेशिक रोजगारमा रहेका अभिभावकले पनि आफूले भोगेको दुःख छोराछोरीले भोग्न नपरोस् भनेर शिक्षामा लगानी गरेका छन् । 

सिंहले भन्नुभयो, “पछिल्ला दुई वर्षमा धनुषामा लोक सेवाका परीक्षा पास गर्नेमा बटेश्वर गाउँपालिकाका युवाको सङ्ख्या उच्च छ । यहाँका धेरै जसो अभिभावक मध्यमवर्गीय किसान हुन्, जसले शिक्षाको महत्व बुझेर आफ्ना सन्तानलाई शिक्षित बनाउन जोड दिएका छन् ।” यसमा स्थानीय तह तथा सरकारी निकायको खासै योगदान नभएर अभिभावक स्वस्फूर्त रूपमा छोराछोरी शिक्षित बनाउन लागेको सिंहको भनाइ छ । 

गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय स्रोतका अनुसार हालसम्म करिब तीन सयदेखि चार सय युवाले लोक सेवाका परीक्षा पास गरी सरकारी सेवामा योगदान पु¥याइरहेका छन् । यद्यपि यसबारे यकिन तथ्याङ्क सङ्कलन भने चुनौतीपूर्ण रहेको छ ।  

शिक्षक सेवा आयोगमार्फत प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षकका रूपमा धेरैले काम गरिरहेका छन् । त्यस्तै स्टाफ नर्स, स्वास्थ्य सहायक र मेडिकल अफिसर जस्ता स्वास्थ्य सेवाका पदमा पनि यहाँका व्यक्ति कार्यरत छन् । बटेश्वरका युवा नेपाल प्रशासन सेवा, लेखा, निरीक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा समेत सक्रिय छन् ।

कलाकार फूलगेन मगहीले यहाँ सरकारी सेवामा प्रवेश गर्ने लहर नै चलेको बताउनुभयो । सरकारी जागिर युवाको पहिलो रोजाइ बनेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसले नयाँ पुस्तामा पछिल्लो समय लोक सेवा तयारी गर्ने उत्साह बढेको छ  । निजी तयारी कक्षाका साथै अनलाइन माध्यमबाट पनि तयारीमा जुटेका छन् । सरकारी सेवामा पुगेका युवाले गाउँमा आफ्नो अनुभव बाँड्दै तयारी कक्षा सञ्चालन गर्न थालेका छन् । यसले आगामी वर्षमा सरकारी सेवामा प्रवेश गर्ने युवाको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ । 

स्थानीय राजकिशोर महतोले ग्रामीण क्षेत्रका युवाले देखाएको परिश्रम उदाहरणीय रहेको बताउँदै गाउँपालिकाले अझ प्रभावकारी कार्यक्रम ल्याउन सके युवाको सफलता अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । युवाको सरकारी सेवामा बढ्दो सहभागिताले यहाँको शैक्षिक र सामाजिक चेतनाको विकासलाई उजागर गरेको छ । 

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले शिक्षाको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले समय समयमा लोक सेवा तयारी कक्षाको आयोजना गर्दै आएको छ । अध्यक्ष महतोले भन्नुभयो, “सरकारी सेवामा पुगेका व्यक्ति हाम्रो गाउँका प्रेरणाका स्रोत हुन् । आगामी दिनमा तयारी कक्षाको स्तरोन्नति गर्दै प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने योजना छ ।”