• ३ माघ २०८१, बिहिबार

चर्किएकै घरमा फर्किए भूकम्पपीडित

blog

पालमुनि बसेका भूकम्पपीडित । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, माघ ३ गते । बाजुरामा भूकम्पको डरले सुरक्षित स्थानमा त्रिपालमुनि बास बस्दै आएका भूकम्पपीडित फेरि चर्किएकै घरमा फर्किन बाध्य भएका छन् । यहाँ पटक पटक आएको भूकम्पले घर चिरा चिरा परे पनि सरकारले अन्य कतै राम्रो व्यवस्था गर्न नसक्दा भूकम्पपीडित फेरि चर्किएकै घरमा फर्कन थालेका हुन् । २०८१ पुस ६ गते जगनाथ गाउँपालिकाको गोत्रीमा ५.२ रेक्टल स्केलको भूकम्प गएको थियो । यसले यहाँका १४६ पूर्ण र ८६६  घर आंशिक रूपमा क्षति भएका थिए । 

भूकम्पले घर चर्किए पनि आफूलाई बास बस्नसमेत कतैबाट व्यवस्था नहुँदा फेरि त्यही चर्किएकै घरमा आएर बस्न बाध्य भएको जगनाथ गाउँपालिका–५, गोत्रीका अतिराम दमाईले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिन भूकम्पको डरले त्रिपाल लगाएर बाहिर बस्यौँ । अहिले त्यहाँ  चिसो भएपछि फेरि त्यही चर्किएकै घरमा आएर बस्न थालेका छौँ ।” विसं २०७८ देखि अहिलेसम्म भूकम्पले घर निकै चर्किंदै गएको छ । नयाँ घर लगाउन पैसा नहुँदा यसै घरमा बास बस्न बाध्य भएको दमाईले बताउनुभयो ।

हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा माटो र ढुङ्गाले निर्माण गरिएका करिब ५० वर्ष पुराना घर छन् । अहिले भूकम्पले यी घरमै ठुलो क्षति गर्ने गरेको छ । 

यहाँ २०७९ सालमा आएको भूकम्पले एक हजार १६६ र २०८० सालमा आएको भूकम्पले एक हजार ८४४, २०८१ पुस ६ गते गएको भूकम्पले १४६ घर पूर्ण र ८६६ घर आंशिक रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ भूकम्पबाट जोगिन प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने हो तर अहिले पनि पुरानै डिजाइनले निर्माण गरिएकाले स्थानीयलाई ती घरमा बास बस्न निकै जोखिम मोल्नु परेको छ ।”

यहाँका प्रत्येक स्थानीय तहमा घर निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न लगाउने गरी स्थानीय तहलाई पत्राचार गरिएको छ । यहाँका भूकम्पपीडितसँग टहरा निर्माण गर्नसमेत पैसा नभएकाले यसका लागि अहिले गृह मन्त्रालयमा १५ करोड रुपियाँ माग गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।