• ३ माघ २०८१, बिहिबार

एक पालिका, एक आवासीय विद्यालय

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ ३ गते । ‘एक पालिका एक आवासीय विद्यालय’ कार्यक्रम अन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयमा छात्रावास निर्माण हुने भएको छ ।

सङ्घीय सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत राक्सिराङ गाउँपालिका–३, सरिखेत, पलाँसेस्थित सूर्योदय मावि (प्राविधिक शिक्षालय) मा चारकोठे छात्रावास निर्माण हुने भएको हो । गत मङ्सिर २७ गते आगामी जेठ २७ गते ६४ लाख ९२ हजार ३२९ रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा हाल शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने छ सय विद्यार्थी छन् ।

छात्रावास भवनको नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले शिलान्यास गर्दै छात्रावास निर्माणपछि छात्राको पठनपाठनको नियमिततामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त विद्यालयमा राक्सिराङ गाउँपालिकाको वडा नं. १, २, ३, ५ सँगै कैलाश गाउँपालिका–४ का बालबालिका अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक सुवेदीले दुई घण्टाभन्दा बढी हिँडेर अध्ययनका लागि आउने छात्रालाई लक्ष्य गरी बनाइएको छात्रावासले छात्राको शिक्षामा पहुँच वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । यस्तै थाहा नगरपालिकाको झम्केश्वरी माविमा समेत सङ्घीय सरकारको बजेटमा छात्रावास निर्माण हुने भएको छ ।