• ३ माघ २०८१, बिहिबार

लाहाछेवरको विद्यालयमा दिवा आवास

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ ३ गते । रामेछापको दुर्गम हिमाली गाउँ लाहाछेवरका विद्यार्थीका लागि विद्यालयमा नै दिवा आवासको व्यवस्था गरिएको छ । जिल्लाको उत्तरी भेगको अन्तिम बस्ती उमाकुण्ड गाउँपालिका–१, लाहाछेवरस्थित हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमा नै दिवा आवासको व्यवस्था गरिएको हो ।  समुद्री सतहदेखि दुई हजार ७५० मिटरको उचाइमा रहेको लाहाछेवर बस्तीमा वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म दिवा आवास सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थी नियमित विद्यालय नआउने र आए पनि समयमा विद्यालय नआउने गर्दा समस्या भयो । विद्यालय आउँदा पनि गृहकार्य नगरी आउने गर्न थाले । यसै कुरालाई ध्यानमा राखेर बिहानदेखि साँझसम्म विद्यालयमा बसेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको हो ।”  बिहान ७ बजे विद्यालय आउने विद्यार्थीलाई बिहानको खाजा, खाना तथा दिउँसोको खाजासमेतको व्यवस्था विद्यालयमा नै मिलाइएको उहाँले बताउनुभयो । 

स्थानीयका अनुसार विद्यालयमा विद्यार्थी थोरै भए पनि लाहाछेवरबाट अर्को विद्यालयसम्म पुग्न निकै टाढा भएपछि लाहाछेवरमा २०३७ सालदेखि नियमित रूपमा विद्यालय सञ्चालन गरिएको हो । विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनलाई व्यवस्थित गराउन दिवा आवाससहितको कक्षा सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थी बिहान सबेरै विद्यालय आएर १० बजेसम्म पढ्छन् । १० बजे नियमित कक्षा सुरु हुन्छ । ४ बजेपछि पनि विद्यालयमा नै बसेर गृहकार्य गर्छन् । गृहकार्य सकेपछि साँझ ५ बजेपछि मात्र घर फर्कन्छन् ।” विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयमा नै आवास र निःशुल्क खानाको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । 

विद्यालयमा विद्युत् र इन्टरनेट जडान 

हिमालय आधारभूत विद्यालयमा इन्टरनेट तथा विद्युत् जडान गरिएको छ । कम्प्युटर, प्रिन्टर र बालबालिकालाई चिसोबाट बचाउन हिटरको समेत व्यवस्था गरिएको उमाकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष ङावातिन्डु शेर्पाले बताउनुभयो । शिक्षा क्षेत्रको विकासबिना अन्य क्षेत्रको विकास कठिन रहेकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफूहरू लागि परेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको विकासबिना अन्य क्षेत्रको विकास कठिन छ । त्यसकारण अन्य क्षेत्रलाई थाती राखेर भए पनि शिक्षाकै विकासमा लागेका छौँ । जग नै राम्रो भएन भने माथि राम्रो हुँदैन । आधारभूत विद्यालयलाई नै दिवा आवासीय बनाउन लागेका छौँ ।”