सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, माघ ३ गते । सिन्धुली जिल्लामा २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र सहरी विकास तथा भवन कार्यालयको संयोजनमा जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । भूकम्पसम्बन्धी सचेतनामूलक नारासहितको प्लेकार्ड लिएर जिल्ला रेडक्रस शाखाको भवनअगाडिबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त सभामा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले भूकम्पबाट बच्न पहिले नै सावधानी अपनाउनुपर्ने र भूकम्पप्रतिरोधी संरचना बनाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै साना सहर आयोजना खुर्कोटले २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबारदेखि सातदिने भवन निर्माणसम्बन्धी डकर्मी तालिम सुरु गरेको छ । ३० जनाको सहभागिता रहेको उक्त तालिममा भूकम्पप्रतिरोधी संरचना बनाउन सिकाइने कार्यालयले जनाएको छ ।