• ३ माघ २०८१, बिहिबार

पानी उद्योग सञ्चालन

blog

तम्घास समाचारदाता

तम्घास, माघ ३ गते । गुल्मीमै पहिलो पटक पानी उद्योग सञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–३, छल्दीखोला किनारमा ‘रेसुङ्गा जल’ उद्योग प्रालि नामले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा आएको हो । 

सोही क्षेत्रका विश्वास पुन, सन्तोष कुँवर र राम पन्थीले संयुक्त लगानीमा पिउनेपानी उद्योग सञ्चालनमा ल्याउनुभएको हो । प्रतिघण्टा दुई हजार लिटर पानी उत्पादन गर्ने क्षमता रहेको उद्योगले अहिले एक हजार चार सय लिटर प्रतिघण्टा उत्पादन गरिरहेको कुँवरले जानकारी दिनुभयो । 

उद्योगबाट एक लिटर, आधा लिटर र २० लिटरको जारमा शुद्ध पिउने पानी बजारमा ल्याएको अर्का राम पन्थीले बताउनुभयो । उद्योगबाट उत्पादन भएको पानी गुल्मी जिल्लाभर नै बिक्रीका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । 

चिनियाँ प्रविधिको अत्याधुनिक स्वचालित उद्योगमा स्थानीय १५ जनालाई प्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको उद्योगले जनाएको छ । 

माध्यमिक तहसम्म एउटै विद्यालयमा पढेका तीन जना युवाले करिब दुई करोड लगानी लगाएर जिल्लामै पहिलो पानी उद्योगका रूपमा सञ्चालनमा ल्याएको अध्यक्ष कुँवरले बताउनुभयो ।