गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ३ गते । सार्वजनिक सेवा प्रसारण नेपालले समानतामूलक समाजको निर्माण गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन नवीनतम् अभ्यास आरम्भ गर्नुपर्ने सुझाव विज्ञले दिएका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गरी सेवा पूर्वारम्भ कार्यक्रममा बुधबार भएको विमर्श र छलफलमा सहभागी विज्ञले नागरिकको हकअधिकार स्थापित गर्ने र राज्य जवाफदेही बनाउन भूमिका खेल्नुपर्ने बताएका हुन् ।
पूर्वारम्भ कार्यक्रमको दोस्रो दिन स्वास्थ्य र शिक्षामा सार्वजनिक सेवा प्रसारणसँगै सामाजिक, सांस्कृतिक रूपान्तरण र राष्ट्रिय एकता, विपत्का बेला सार्वजनिक सेवा प्रसारण र सार्वजनिक सेवा प्रसारणको अभ्यास, चुनौती र सम्भावना शीर्षकमा बहस भएको छ ।
पहिलो सत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बहस गर्नुभयो । शिक्षामन्त्री भट्टराईले संसदीय समितिमा विचाराधीन शिक्षा विधेयकलाई समयसापेक्ष र राम्रो बनाउने सन्दर्भमा बहस चलाउन सार्वजनिक सेवा प्रसारणलाई सुझाव दिनुभयो । उहाँले नागरिकको आकाङ्क्षा अनुसार शिक्षा प्रदान गर्न विद्यमान समस्या सम्बोधन गर्ने गरी विधेयक पारित गर्न सकारात्मक बहस चलाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विद्यालय तहदेखि नै शैक्षिक सुधारका लागि कार्यक्रम निर्माण गर्न सार्वजनिक सेवा प्रसारण संस्थाले संवाद चलाउनु पर्छ ।”
नागरिकको पहुँचमा स्वास्थ्य सेवा
स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवामा नागरिकलाई सहजै पहुँच स्थापित गर्नका लागि सार्वजनिक सेवा प्रसारणले आवश्यक सूचना प्रदान गर्न पहलकदमी लिनुपर्ने बताउनुभयो । उहाँले नागरिकलाई स्वास्थ्य सेवा अधिकारका रक्षाका लागि राज्यले धेरै नीतिगत प्रबन्ध गरेको भए पनि तल्लो तहमा जानकारी नहुँदा लाभ लिन नसकेकाले सेवासम्बन्धी जानकारी प्रदानमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
उहाँले विभिन्न अस्पतालबाट प्राप्त हुने सेवा सुविधा, निःशुल्क प्राप्त हुने उपचार सेवासहित राज्यले गरेका व्यवस्थासम्बन्धी सूचना नागरिक तहमा पुर्याउन आग्रह गर्दै यस कार्यमा सार्वजनिक सेवा प्रसारणसँग सहकार्य गर्ने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “संविधानको व्यवस्था अनुसार स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका सन्दर्भमा राज्यले दिने सेवा र नीतिगत प्रबन्धका सम्बन्धमा नागरिकलाई सुसूचित गर्ने कार्यमा मन्त्रालयले सार्वजनिक सेवा प्रसारणसँग सहकार्य गर्छ ।”
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले शिक्षा र स्वास्थ्यलाई सार्वजनिक सेवा प्रसारणले प्राथमिकतामा राखेको प्रस्ट पार्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यका विषयसँगै नागरिकलाई दृष्टिगत गरी लागु भएका कार्यक्रम पनि प्रभावकारी नभएको गुनासा आइरहँदा ती विषयलाई प्राथमिकता दिने बताउनुभयो ।
विपत्मा सहकार्य गर्नु पर्छ
विपत्का बेला सार्वजनिक सेवा प्रसारण शीर्षकमा भएको बहसमा विज्ञहरूले नागरिकलाई समस्या परेका बेला सहकार्य गर्नुपर्ने बताएका छन् । विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यमा सार्वजनिक सेवा प्रसारणले राष्ट्रलाई विपत् परेका बेला सम्पूर्ण निकायसँग समन्वयात्मक भूमिका निभाउनुपर्ने बताएका हुन् ।
साथै विज्ञहरूले नागरिकलाई सचेतना प्रदान गर्ने, राज्यका निकायलाई उद्धार र राहतका लागि समन्वय गर्ने जस्ता कार्यमा सार्वजनिक सेवा प्रसारणको अग्रसरता महत्वपूर्ण हुने बताए । प्राडा विशालनाथ उप्रेतीले भूकम्पको जोखिममा रहेको नेपालमा पूर्वतयारीमा समन्वयको वातावरण बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई, नेपाली सेनाको विपत् व्यवस्थापन निर्देशनालयका महासेनानी हरिशबहादुर बम, नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीसहितका वक्ताले विपत् जोखिम न्यूनीकरणका लागि राज्य, नागरिकसँगै सार्वजनिक सेवा प्रसारणको समन्वय हुनुपर्ने बताउनुभयो ।
सांस्कृतिक क्षेत्रको सुझाव
‘सामाजिक, सांस्कृतिक रूपान्तरण र राष्ट्रिय एकता’ शीर्षक भएको बहसमा सार्वजनिक सेवा प्रसारणले सबै भूगोलमा बस्ने नागरिकलाई जोडेर समानता र समतामूलक समाज निर्माणमा योगदान गर्नुपर्ने सुझाव दिइएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज, वरिष्ठ मानव अधिकारकर्मी हीरा विश्वकर्मासहितले राजनीतिक रूपान्तरणपछि समाजलाई विभेदबाट मुक्त गराउनुपर्ने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारणको अभ्यास, चुनौती र सम्भावना शीर्षकमा भएको बहसमा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष नीरविक्रम शाह, सञ्चार कानुनविज्ञ काशीराज दाहाल, वरिष्ठ पत्रकार मणि राणा, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र सार्वजनिक सेवा प्रसारण सञ्चालक समिति सदस्य फूलमान बल तामाङले बहस गर्नुभयो ।