• ५ जेठ २०८१, शनिबार

प्राथमिकतामा स्वास्थ्य कार्यक्रम

blog

काठमाडौँ, जेठ ११ गते । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रम प्रस्तुत गर्नुभएको हो । भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रममा ज्येष्ठ नागरिकको बढ्दो जनसङ्ख्यालाई दृष्टिगत गर्दै उनीहरूका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभएको छ । 

राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रममा विभिन्न रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्नुका साथै स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना गरिने उल्लेख छ । 

यसैगरी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरी देशभित्र परीक्षण हुन नसक्ने प्रयोगशाला परीक्षणलाई मात्र विदेश पठाउने उल्लेख छ । नेपाली औषधि उत्पादकहरूको उत्पादन क्षमता वृद्धि गरी औषधि आपूर्तिमा सुधार गर्ने विषय पनि सरकारको नीति तथा कार्यक्रममा परेको छ । 

नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुक्षेत्रीय कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि सबै क्षेत्रसँग सहकार्य गरिने उल्लेख छ । यस्तै प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सामुदायिक विद्यालयमा स्वास्थ्य परिचारिका (नर्स)को व्यवस्था गरिनेछ । प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज÷प्रतिष्ठान स्थापना गर्ने नीति ल्याइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने, चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी सङ्ख्या वृद्धि गरिने, सबै स्थानीय तहका स्वास्थ्य संस्थाले ४० वर्षमाथिका नागरिकको वर्षको एक पटक आधारभूत ल्याब परीक्षण र महिलामा हुने पाठेघरको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने उक्त कार्यक्रममा समावेश गरिएको छ ।  पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम विस्तार गरिने, स्तन क्यान्सर रोकथामका लागि विशेष कार्यक्रम ल्याइनेछ । 


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।