मकवानपुर समाचारदाता
हेटौँडा, माघ २ गते । मकवानपुरको दुई गाउँपालिकामा पछिल्ला केही वर्षयता चट्याङजन्य प्रकोप बढ्दै गएको छ । राक्सिराङ र मकवानपुरगढी गाउँपालिका चट्याङजन्य प्रकोपका कारण बर्सेनि मानवीय, घरपालुवा जनावर एवं भौतिक क्षति हुँदै आएको छ ।
चट्याङजन्य प्रकोपका कारण बर्सेनि धनजनको क्षति हुने क्रम बढ्दै गएपछि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार हेटौँडामा आयोजना गरेको चट्याङजन्य प्रकोप न्यूनीकरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी सरोकारवालाले चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि प्रविधिको प्रयोगमा जोड दिएका छन् ।
दक्षिण एसियाली चट्याङ सञ्जालको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा सञ्जालका अध्यक्ष डा. श्रीराम शर्माले चट्याङ पर्नुका कारण, चट्याङबाट बच्ने र चट्याङजन्य प्रकोप न्यूनीकरणका उपाय, प्रविधिको प्रयोग, चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि भएका प्रयास, अन्यत्रको अनुभव, सिकाइलगायतका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
चट्याङजन्य प्रकोपबाट उच्च जोखिममा रहेको राक्सिराङ गाउँपालिकामा प्रकोप न्यूनीकरणका लागि भइरहेको प्रयास, सिकाइ र गैरसरकारी संस्थाको सहयोगमा पूर्वचेतावनी प्रणाली राख्न भइरहेको तयारीका बारेमा समेत कार्यक्रममा छलफल गरिएको थियो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चट्याङजन्य प्रकोपका कारण प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति हुने क्रम बढ्दै गएको भन्दै चट्याङजन्य प्रकोप न्यूनीकरणमा सचेतना कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले चट्याङजन्य प्रकोपको बढी जोखिम भएका पालिकामा सचेतनासँगै प्रविधिको प्रयोग गर्ने गरी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटसमेत व्यवस्था गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले चट्याङजन्य प्रकोपका दृष्टिले मकवानपुरगढी गाउँपालिका उच्चजोखिममा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि सहकार्य र समन्वय आवश्यक भएको बताउनुभयो । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चट्याङजन्य प्रकोपका कारण पालिकामा हरेक वर्ष ठुलो सङ्ख्यामा धनजनको क्षति हुने गरेको बताउँदै पालिकाले सहयोगी संस्थाको सहयोगमा चट्याङजन्य प्रकोपका लागि गरिरहेका प्रयासका बारेमा जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीको अध्यक्षतामा भएको सो कार्यक्रममा चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि प्रदेश सरकारले गरेका तयारी र आगामी कार्यक्रमका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो । मन्त्रालयका उपसचिव सुरेश खनालले चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि सचेतनासँगै प्रदेश सरकारले पहिलो चरणमा मकवानपुरगढी गाउँपालिकामा अर्थिङ राख्ने योजना बनाएको जानकारी दिनुभयो । “अर्थिङ राख्दा लाग्ने खर्चका बारेमा सुरुमा अध्ययन गर्छौं,” खनालले भन्नुभयो, “चालु आवका लागि विनियोजित बजेट अनुसार मकवानपुरगढीका सामुदायिक भवन, विद्यालय र स्वास्थ्य संस्थामा अर्थिङ राख्ने योजनामा छौँ ।”
उहाँले पूर्वचेतावनी प्रणाली राख्दा १५ देखि ३० मिनेटअघि चेतावनीसहितको सूचना आउने भएकाले चट्याङजन्य प्रकोपबाट बच्न सतर्कता अपनाउन र सुरक्षा दिन सकिने भन्दै राक्सिराङमा गरिने प्रयोग, सिकाइ र अनुभवपछि अन्य स्थानमा उक्त प्रविधि प्रयोगलाई अगाडि बढाउनेबारेमा कार्यक्रममा छलफल गरिएको बताउनुभयो । प्रदेश सरकारले चालु आवमा अर्थिङ राख्न २० लाख र चट्याङजन्य प्रकोप न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्न पाँच लाख रुपियाँ विनियोजन गरेको छ ।