• २ माघ २०८१, बुधबार

भीम पुस्तकालय सञ्चालन

blog

दोलखा समाचारदाता

दोलखा, माघ २ गते । कुनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि कमाएको जिल्लाकै जेठो दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक सहर दोलखाको भीम पुस्तकालय बन्द भएको २० वर्षपछि सञ्चालनमा आएको छ । भवन अभावले थला परेको पुस्तकालय नयाँ भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएलगत्तै सञ्चालनमा आएको वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालनका लागि गठन भएको व्यवस्थापन समितिले भूकम्पले भवन भत्किएपछि लथालिङ्ग वस्तुको खोजी गरेको छ । पुस्तकालयको प्रमाणपत्र पनि भेटिएको छैन । अभिलेख खोजेर पुस्तकलगायत सबै वस्तुको व्यवस्थापन गरेपछि उद्घाटन गरी सञ्चालनमा आएको हो । 

प्रसिद्धि कमाए पनि खासै कसैको चासो नभएकै बेला भूकम्पले क्षति भएको भवनको समेत नामोनिसान थिएन । इन्जिनियर आत्मकृष्ण श्रेष्ठका अनुसार बाबुबाजेले पठनसंस्कृति विकासका लागि २०१० सालमै सञ्चालनमा ल्याएको भीम पुस्तकालयको भवन भूकम्पले पूर्ण क्षति भएको थियो । पुनर्निर्माणका लागि कसैको चासो नरहेकै बेला रूपा फाउन्डेसन काठमाडौँले १५ लाख रुपियाँमा पुस्तकालय भवन निर्माण सम्पन्न गरिदिएको हो । फाउन्डेसनका सल्लाहकारसमेत रहेका श्रेष्ठले भन्नुभयो, “भवनको संरचना ढलान तथा स्टिलको छ । भुइँतलामा पुस्तक राखिएको छ । माथिल्लो तलामा हल सञ्चालन हुने छ । पुस्तकालय वडाले सञ्चालन गर्ने र केही पुस्तकको सहयोग भने फाउन्डेसनले गर्ने लक्ष्य राखिएको छ । कुनै बेला यो पुस्तकालय कति प्रख्यात थियो भने उत्तर कोरिया, जर्मनी, चीनलगायतका मुलुकबाट पत्रिका आउँथ्यो । पुस्तकालय सार्दा सार्दा थकित भएपछि स्थानीय ज्ञानकृष्ण श्रेष्ठले दान दिनुभएको जग्गामै भवन बनेको छ ।” 

जग्गादाता ज्ञानकृष्ण श्रेष्ठ, भरतबहादुर श्रेष्ठ, आत्माकृष्ण श्रेष्ठसमेतको पूर्ण सहयोग छउन्जेल पुस्तकालय राम्ररी सञ्चालन भयो । उहाँहरूले छाडेपछि पुस्तकालयको बेहाल भएको उहाँले स्पष्ट पार्नुभयो । अमेरिका बस्दै आएका स्थानीय रोचक प्रधानले पुस्तकालय व्यवस्थापनका लागि एक लाख नगद प्रदान गर्नुभएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।