• ६ जेठ २०८१, आइतबार

दुई वर्षअघिको हत्या प्रकरणमा न्यायको माग

blog

काठमाडौँ, जेठ ११ गते ।  “हामीले न्याय पाउनुपर्छ, न्यायका लागि हामी धेरै पटक काठमाडौँ आयौँ, सुर्खेत गयौँ, हाम्रा छोरा बिनागल्ती मारिए, सरकार हामीलाई न्याय दे” नवराज विककी आमा उर्मिला विकले मङ्गलबार माइतीघर मण्डलामा उभिएर न्याय माग्नुभयो । यसरी न्याय माग्दै हिँडेको दुई वर्ष हुँदा पनि आफूहरूले न्यायको अनुभूति गर्न नपाएको र समाजमा अझै पनि डराएर बस्नु परेको उहाँले बताउनुभयो । 

जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित छ युवाको हत्या भएको दुई वर्ष भयो । अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा उनीहरूको हत्या भएको थियो । छ जना युवाका आमा जाजरकोटबाट आएर मङ्गलबार मण्डलामा धर्ना दिए ।

घटना भएको दिन जेठ १० गते रुकुमपश्चिम सोती नरसंहारविरुद्ध खबरदारी तथा धर्ना कार्यक्रममा दलित समुदायका सांसदले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८, सोती नरसंहारमा संलग्नलाई कारबाहीको माग गर्नुभयो । घटना भएको दुई वर्ष हुँदा पनि पीडित परिवारले न्याय नपाएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मीन विश्वकर्माले जातीय विभेदकै कारण दुई वर्षअघि नवराज विकसहित युवाको नरसंहार भएको तर पीडित परिवारले अहिलेसम्म न्याय नपाउनु लजास्पद रहेको बताउनुभयो । अन्तरजातीय प्रेमका कारण छ युवाको हत्या भएको घटनामा संसदीय समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको चर्चा गर्दै उहाँले मुलुकमा जातीय भेदभाव रहेसम्म न्याय नहुने, समाज विभाजित हुने, शान्ति नहुने र देश विकासमा पछि पर्ने बताउनुभयो । 

सङ्घीय सांसद पार्वती बिशुङ्खेले दलित भएकै कारण न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । चौरजहारीमा छ युवा हत्याको घटना जातीय भेदभावकै कारण भएकाले राज्यले सामान्य रूपमा लिएको उहाँको भनाइ छ । संविधान र कानुन कार्यान्वयन गर्ने निकायले यस्ता घटना नदोहोरिने गरी न्याय दिनुपर्ने सांसद बिशुङ्खेले बताउनुभयो । 

राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले घटनामा संलग्नलाई राज्य पक्षबाटै संरक्षण भइरहेको दाबी गर्नुभयो । उहाँले घटना दलित समुदायमाथि भएकाले सामान्य रूपमा लिन खोजिए समाज थप दुर्घटनातर्फ जान सक्ने चेतावनी दिनुभयो । 

२०७७ जेठ १० गते जाजरकोटमा नवराज विक साथीहरूसहित चौरजहारी नगरपालिका–८, सोतीमा प्रेमिकालाई अन्तरजातीय विवाह गर्न जाने क्रममा उनीहरूमाथि स्थानीयवासीले आक्रमण गरेका थिए । आक्रमणमा विकसहित टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको हत्या भएको थियो । 


Author

लक्ष्मण दर्नाल