गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २ गते । चलचित्र ‘महाभोज’ को मुहूर्त पूजा गरिएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा मङ्लबार चलचित्रको निर्माण पक्षले विशेष पूजा गर्यो । पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङलगायतको उपस्थिति रहेको थियो । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने चलचित्रको टोली बुधबार त्यसतर्फ जाने बताइएको छ ।
दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोहीको कथा हो । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने चलचित्रलाई विकास सुवेदीले लेख्नुभएको हो । राजेश श्रेष्ठको छायाङ्कन रहने चलचित्रको सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेशबहादुर रावतको रहेको छ ।