• २ माघ २०८१, बुधबार

‘चलचित्र समीक्षाको आवश्यकता बढेको छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । थाहा नगरपालिकाको वज्रवाराहीमा जारी ‘थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करणको दोस्रो दिन चलचित्र समीक्षा विषयमा तीन जना समीक्षकबिच अन्तरसंवाद सम्पन्न भएको छ  ‘किन चाहिन्छ चलचित्र समीक्षा ?’ शीर्षकमा समीक्षक प्रसन्न माली, प्रभाकर गौतम र श्रीजु सरलबिच अन्तरसंवाद भएको हो ।

छापा माध्यममा लेखेर समीक्षा गर्दै आउनुभएकी सरल र भिडियोमार्फत बोलेर चलचित्र समीक्षा गर्दै आउनुभएका मालीले आआफ्ना माध्यममा रहेका चुनौती र अवसरबारे निजी अनुभव साट्नुभयो ।   कला पत्रकार गौतमले लेखन अनुभवसँगै चलचित्र समीक्षाका लागि नेपालमा भइरहेका सार्वजनिक प्रयासबारे आफ्ना धारणा राख्नुभयो ।

स्वतन्त्र रूपमा युट्युबमा चलचित्र समीक्षा गर्दै आउनुभएका समीक्षक मालीले नेपालमा कोभिडपछिको समयमा ‘इन्फ्लुएन्सल’ संस्कृतिले चलचित्र समीक्षाको क्षेत्र प्रभावित भइरहेको तर्क गर्दै भन्नुभयो, “स्वतन्त्र र निर्भीक समीक्षाको खाँचो झन् बढेको छ ।” समीक्षक मालीको मतमा सहमति जनाउँदै अन्य दुई वक्ताले वर्तमान समयमा फिल्म समीक्षामा विश्वसनीयता र इमानदारी कायम राख्न समीक्षकहरू थप सचेत र प्रतिबद्ध हुनुपर्ने साझा मत राखे ।

फिल्म समीक्षाको महत्व, प्रभाव, आवश्यकता र अवसरसम्मका विषयलाई छोएको छलफलमा सर्वसाधारणले खाने भोजनदेखि लगाउने लुगासम्मको छनोटमा चलचित्रले प्रभाव पार्ने विषयमा चर्चा भयो । समीक्षक गौतमले भन्नुभयो, “चलचित्रले समग्र समाजको मानसिकतालाई आकार दिने सामथ्र्य राख्ने भएकाले चलचित्रको समीक्षा हुनु आवश्यक छ । समीक्षा गर्दा पर्दाभित्रका कुरामा मात्र सीमित नभई स्थापित संस्कृति, विभिन्न पक्ष र आयामबारे समेत समीक्षकहरूले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो । 

अनौपचारिक शैलीमा एकअर्कालाई प्रश्न सोध्दै जवाफ दिँदै भएको अन्तरसंवादमा तीन जना वक्ता र तिनै जना सहजकर्ताको भूमिकामा देखिएका थिए । आफ्नै युट्युब च्यानलमार्फत निरन्तर चलचित्र समीक्षा गर्ने मालीको चलचित्र ‘अन्तवार्ता’ अन्तरसंवाद अघि देखाइएको थियो । 

पुस २८ देखि सुरु भएको फिल्म फेस्टिभल मङ्गलबार सकिएको छ । फेस्टिभलमा छोटा चलचित्र  फिचर चलचित्र र वृतचित्रसमेत गरी २० चलचित्र प्रदर्शनमा राखिएका थिए । फेस्टिभलको पहिलो दिन ‘नेपाली सिनेमाको विविधता’ विषयमा रङ्गकर्मी एवं फिल्मकर्मी सुलक्षण भारती र कलाकार नवीन न्यौपानेबिच प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।