• १८ असार २०८१, मङ्गलबार

हर्क राईको प्रशंसा

‘हामीभन्दा राम्रा रहेछन्’

blog

हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।

मकवानपुर समाचारदाता 

हेटौँडा, जेठ ११ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतमा जनप्रतिनिधिले गरेका राम्रा कामको अनुसरण गर्न र खराब कामलाई नदोहो-याउन आग्रह गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गर्न मङ्गलबार आयोजित कार्यक्रममा उहाँले नेता तथा कार्यकर्तामा जनताको सेवक हुनुपर्ने गुण आवश्यक भएकाले आफूले आफैँलाई मूल्याङ्कन गर्न आग्रह गर्नुभयो । 

धरान उपमहानगरपालिका प्रमुखमा विजयी हर्कराज राईको प्रशंसा गर्दै उहाँले राईले निरन्तर जनताको पक्षमा काम गरेको र जनताको विश्वास जितेकाले जनताले मत दिएर निर्वाचित गरेको बताउनुभयो । उहाँले राईको जस्तै जनभावना सबै दलका नेता तथा कार्यकर्तामा हुनुपर्नेमा जोड दिँदै समाजमा राम्रो काम गर्नेको उच्च मूल्याङ्कन र सम्मान गर्ने परिपाटी आवश्यक भएको औँल्याउनुभयो ।

“म राईको लगनशीलताको प्रशंसा गर्छु,” पूर्वप्रम नेपालले भन्नुभयो, “राई साधारण मानिस, अत्यन्तै निराश भएका मानिस, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने अवस्थामा पुगेका मानिस र टेम्पो चलाएर मानिसको सेवा गर्ने मानिस हुनुहुन्छ ।”

आफ्नो काम र गतिविधिमा प्रत्येक समस्या परेका मान्छेलाई आफ्नो टेम्पो लिएर पुग्दा रहेछन्, बिरामीलाई अस्पतालमा पु-याउने गर्दा रहेछन्,” उहाँले अगाडि भन्नुभयो, “चुनाव हुने कहिले हो, कहिले तर समस्यामा परेका भन्ने थाहा पाउनेबित्तिकै टेम्पो लिएर पुगिहाल्ने । 

 के यस्तो भावना हामीमा छ ? अनि हामीभन्दा नि राम्रा भएनन् ती ?”  असल गुण भएकाहरूको हामीले सम्मान गर्नुपर्ने भन्दै उहाँले समाजमा राम्रो काम गर्ने मानिसको उच्च मूल्याङ्कन हुने बताउनुभयो ।

आफ्नो पार्टी अरू पार्टीभन्दा भिन्न रहेको भन्दै उहाँले भन्नुभयो, “आफूलाई फर्केर हेर्नुस्, समीक्षा गर्नुहोस्, जितेको स्थान र हारेका स्थानमा पनि आफ्नो मूल्याङ्कन गर्नुहोस् ।” बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न भन्दै पाँचदलीय गठबन्धन संविधान र सङ्घीयताको रक्षाका लागि गरिएको बताउनुभयो ।