• २ माघ २०८१, बुधबार

एचपिभी खोपले महिनावारीलाई कुनै असर गर्दैन

blog

काठमाडौं, माघ १ गते । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोपले महिनावारीलाई कुनै असर नगर्ने बताइएको छ ।

स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले एचपिभी खोपले किशोरीको महिनावारीलाई कुनै असर नगर्ने जानकारी दिनुभयो ।

सरकारले यहि माघ २२ देखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्दै छ । सोही अभियानमा लगाउने एचपिभी खोपले किशोरीको महिनावारीलाई कुनै असर नगर्ने डा.गौतमले जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, “एचपिभीले महिनावारीलाई कुनै असर गर्दैन । किशोरीमा महिनावारी हुने नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले एचपिभी खोप लगाउँदैमा किशोरीको महिनावारी छिटो सुरु हुने वा ढिलो सुरु हुने हुँदैन ।”

सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत् निःशुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले समेत स्विकृत गरेको हुनाले यो खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी भएको डा.गौतमलले जानकारी दिनुभयो । विभिन्न अध्ययनका अनुसार एचपिभी खोपको प्रभावकारीता शतप्रतिशतसम्म रहेको छ ।