केदार तिमल्सिना
बनेपा, माघ १ गते । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुरु भएको दुई वर्ष पूरा हुँदा करिब ३३ प्रतिशत मात्रै काम हुन सकेको छ । तीन वर्षको समयावधि रहेको यो सडक विस्तार कार्यमा दुई वर्षको समय पूरा हुँदा लक्ष्य अनुसारको कार्यप्रगति नभएकाले समयमै आयोजनाको काम सम्पन्न हुनेमा आशङ्का उत्पन्न भएको छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियर राजेन्द्रप्रसाद दासले सूर्यविनायक–धुलिखेल सडक विस्तार अन्तर्गत हालसम्म करिब ३३ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार, सूर्यविनायकदेखि साँगासम्मको सडक अन्तर्गत हालसम्म ३० प्रतिशत र साँगादेखि धुलिखेल खण्ड अन्तर्गत ३५ प्रतिशत काम भएको छ ।
राजमार्ग विस्तार अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लामा पर्ने सडकखण्डमा सडकको छेउ तथा भित्तातर्फ टेका पर्खाल लगाउने, अधुरा कलभर्ट बनाउनेलगायतका काम भइरहेको उहाँको भनाइ छ । आयोजना प्रमुख दासले काभ्रेपलाञ्चोकतर्फको खण्ड अन्तर्गत धुलिखेलबाट बनेपातर्फ पर्खाल, कलभर्ट लगाउने काम सम्पन्न भएको स्थानमा सबग्रेड गर्ने तयारी भइरहेको र भक्तपुरतर्फ भने सडक पर्खाल लगाउने, अधुरा कलभर्ट पूरा गर्ने काम भइरहेको बताउनुभयो । सडक विस्तार गर्ने क्रममा विभिन्न स्थानमा रहेका घरटहरा हटाउने, चोक राख्ने वा नराख्ने, पुरातात्त्विक महत्वको संरचना, मन्दिरको विषयमा पटक पटक विवाद आइपरेका कारण सडक विस्तारको काममा अपेक्षाकृत रूपमा प्रगति हुन नसकेको उहाँले भन्नुभयो । सडक विस्तार गर्ने क्रममा भक्तपुरमा जग्गाको विवाद र घरटहरा हटाउने विवाद देखिएको छ, विवाद समाधानका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
सडक विस्तार अन्तर्गत भक्तपुरतर्फको साँगानजिक र बनेपाको पुल बजारनजिक अण्डरपास बनाइने आयोजनाले जनाएको छ । आयोजनका इन्जिनियर विष्णुप्रसाद खनालले केही समयअघिसम्म विभिन्न विषयमा विवादले सुस्तगतिमा भइरहेको सडक विस्तारको कामले पछिल्लो समय तीव्रता पाएको बताउनुभयो । उहाँले बनेपाको पुलबजारस्थित पुण्यमाता खोलामा निर्माण हुने पुलको विषयमा सहमतिको वातावरण बनेको बताउँदै बनेपा क्षेत्रमा खानेपानी, ढल र कलभर्टको काम सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
बनेपाको पुण्यमाता खोलामा निर्माण गर्ने पुलको विषयमा विवाद देखिएपछि हाइड्रोलोजिकल स्टडी अनुसार पुलको डिजाइन परिवर्तन गरी करिब दुई फिट उचाइ कम गरिएको भन्दै खनालले पुलको नयाँ डिजाइनको विषयमा स्थानीयसँग छलफल गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । आयोजनाले चालु आर्थिक वर्षका लागि सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि ८५ करोड ६६ लाख रुपियाँ बजेट विनियोजन भएकोमा हालसम्म ४८ करोड ९७ लाख रुपियाँ खर्च भएको जनाएको छ । आयोजना प्रमुख दासले अहिलेको अवस्था अनुसार सहज रूपमा काम भएको खण्डमा सडक विस्तारका लागि चालु आवमा थप एक अर्ब रुपियाँ बजेट आवश्यक पर्ने बताउनुभयो ।
सरकारले आफ्नै लगानीमा अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी दुई वर्षदेखि सडक विस्तारको काम गर्दै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुस महिनादेखि र साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माण गर्न भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि निर्माण कम्पनीले काम गर्दै आएको छ ।
साँगादेखि धुलिखेलसम्मको जिम्मा पाएको लामा कन्स्ट्रक्सनको सम्झौता २०८२ मङ्सिर र सूर्यविनायकदेखि साँगासम्मको सडकको जिम्मा पाएको आशिषकुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीको सम्झौता २०८२ पुस महिनामा सकिने आयोजनाले जनाएको छ ।