वसन्त पराजुली
नारायणगढ,माघ १ गते । साइबेरिया क्षेत्रबाट आउने आगन्तुक चराको सङ्ख्या चितवनमा यो वर्ष ज्यादै न्यून पाइएको छ । जलमा आधारित चरा (जलपन्छी) को हालै सम्पन्न गणनामा आगन्तुक चराको सङ्ख्या न्यून भेटिएको गणकले जनाएका छन् ।
नेपाल पन्छीविद् सङ्घ र वर्ड एजुकेसन सोसाइटीले संयुक्त रूपमा गरेको जलपन्छी गणनामा आगन्तुक चराको सङ्ख्या न्यून भेटिएको गणना संयोजक वासु बिडारीले जानकारी दिनुभयो । “चखेवा, जलेवा, कालो गरुड, सेतो गरुडलगायत हाँसका प्रजाति नै आगन्तुक चरा हुन् । यो वर्ष मुख्य रूपमा गरुडका प्रजाति घटेको छ,” उहाँले भन्नुभयो । अघिल्ला वर्षमा गणनाका क्रममा जताततै देखिने यस्ता चरा अहिले सीमित सङ्ख्यामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
उत्तरी एसियाको साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्यान्डलगायतका देशबाट चरा जाडो छल्न नेपाल भित्रिने गर्छन् । एसियाको उत्तरी धु्रवमा हिमपातसँगै सुरक्षित वासस्थानको खोजीमा चरा नेपाल आउने बताइन्छ । विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्म नेपाल आइपुग्ने यस्ता चरा जाडो मौसमभरि रहने र फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि फर्कने बिडारीले बताउनुभयो ।
आगन्तुक चरा विशेषतः चितवन राष्ट्रिय निकुञ्जका सिमसार र नदी किनारमा रहने गर्छन् । आहारा र जाडो छल्न लामो दुरी पार गरेर आउने आगन्तुक चराको सङ्ख्या घटेसँगै संरक्षणकर्मीमा चिन्ता थपिएको छ ।
चराविज्ञसमेत रहेका बिडारी प्रदूषण, कोलाहल, संरक्षणका ठोस योजना र प्रयास नहँुदा चराको सङ्ख्या घट्दै गएको बताउनुहुन्छ । “अहिले साइबेरियादेखि आएका चराको नेपालमा संरक्षण भएन । बढ्दो प्रदूषणले पनि समस्या भएको हामीले अनुमान लगाएका छौँ,” उहाँले भन्नुभयो ।
चितवनमा जनवरी ६ र ७ मा ६३ जना स्वयंसेवक परिचालन गरी जलपन्छी गणना गरिएको थियो । संयोजक बिडारीका अनुसार सन् १९८७ देखि चितवनमा जलपन्छी गणना गर्न लागिएको हो । जलपन्छी हिउँदमा एसियाका विभिन्न देशबाट बसाइँ सरेर आउने चरा नै हुन् । एसोसिएसनले जारी गरेको विज्ञप्ति अनुसार यो वर्ष चितवनमा ५५ प्रजातिका जलपन्छी भेटिएका छन् । चितवनमा एक हजार ४२६ प्रजातिका चरा पाइएका छन् ।
यो वर्षको गणनामा अघिल्लो वर्ष नभेटिएका कालोटाउके, गगाचिल गरी दुई प्रजातिका चरा पनि भेटिएका छन् । “अघिल्लो वर्ष नभेटिएका दुई प्रजाति यो वर्ष भेटिएको छ,” बिडारीले भन्नुभयो । चितवनमा अघिल्लो वर्ष ४९ प्रजातिका जलपन्छी भेटिएको तथ्याङ्क सोसाइटीसँग छ ।
जाडोका छ महिना साइबेरियाबाट चराहरू हिमाल पार गरेर विभिन्न देशमा आउने गर्छन् । “जहाँ खाना र वासस्थान राम्रो छ, चराहरू त्यहीँ जान्छन्,” नेपाल पन्छीविद् सङ्घका संस्थापक सदस्य टीकाराम गिरीले भन्नुभयो, “माछा र लेउ यस्ता चराको राम्रो आहारा हो ।”