• १ माघ २०८१, मङ्गलबार

भरतपुरको नगर सभा सम्पन्न

blog

भरतपुर महानगरपालिकाको नगर सभा ।

चितवन समाचारदाता

चितवन, माघ १ गते । भरतपुर महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभा हलमा भएको १६ औँ नगर सभाको बैठकले संशोधन तथा रकमान्तर गरिएको १४ करोड २८ लाख रुपियाँसहितको पूरक बजेट ल्याएको छ । वडास्तरीय तथा नगरस्तरीय योजनाको कार्यक्रम संशोधन तथा रकमान्तर गरी पूरक बजेट ल्याएको हो ।

नगर उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नु परेको बताउनुभयो । बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत स्रोत सुनिश्चित गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाउन बजेट उन्मुख हुने बताउनुभयो । साधन, स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाई सरल तथा प्रभावकारी बनाउन र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताउनुभयो ।

चालु आवको अर्धवार्षिक प्रगति स्थितिको विश्लेषणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवं समायोजन गरिएको उहाँले जनाउनुभयो । महानगरले आव २०८१/८२ का लागि छ अर्ब ५६ करोड एक लाख ४३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

नगर सभामा महानगर प्रमुख रेनु दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणाधीन रहेको र धावनमार्ग निर्माण प्रक्रिया सुरु भएको भन्दै उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको र एसियाली मापदण्डको छ लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

“८८ किलोमिटर लामो रिङरोडसहित सङ्घ, प्रदेश र महानगरपालिकाको लगानीमा एक हजार तीन किमी कालोपत्रे सडक निर्माण भएको छ,” उहाँले भन्नुभयो, “महानगरको प्रशासकीय भवन, सिटी हल र जङ्गली जनावरबाट मानव तथा पशु बालीमा हुने क्षति न्यूनीकरणका लागि फाउन्डेसनसहितको मेस जाली निर्माण भइरहेको छ ।”

विभिन्न निकायसँगको समन्वयमा सात हजार नौ सय बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिँचाइ आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो, “महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८९१ जना छोरीको बालउमङ्ग जीवन बिमा गरिएको छ ।”

भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र दुई लाख ८४ हजार बाह्य पर्यटकसहित १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेको जानकारी गराइएको थियो । महानगरको फोहोर व्यवस्थापनका लागि भ्याटबाहेक सात करोड ६१ लाख रुपियाँमा तीन वर्षे आय ठेक्का सम्झौता भई मङ्सिर १ गतेबाट फोहोरमैला सङ्कलन र व्यवस्थापनको काम सुरु भएको नगरप्रमुख दाहालले बताउनुभयो ।

अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका चार हजार ९७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययनरत लक्षित वर्गका सबै बालबालिकालाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण गरिएको उहाँको भनाइ छ ।