• २९ पुस २०८१, सोमबार

फास्ट फुड तथा रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल फास्ट फुड एसोसिएसन नेपालको ८ औं राष्ट्रिय अधिवेशनमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस २९ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औं राष्ट्रिय अधिवेशनमा बोल्नुहुँदै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।

उहाँले व्यावसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेस्टुरेन्टहरूले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरू उठ्दै आएकाले त्यसमा विचार पुर्‍याउन व्यावसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले हाटेल तथा फास्ट फुडहरू ठुलो स्पेस र पूर्वाधारहरूले मात्रै पाँच तारे हुन नसक्ने जानकारी दिनुभयो ।

उपप्रमुख डंगोलले पाँच तारे हुनका लागि गुणस्तरीय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा रहेको भनाइ व्यक्ति गर्नुभयो । उहाँले महानगरले राम्रो काम गर्ने व्यावसायीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘पाँच तारे हाटेल फास्ट फुड पूर्वाधारहरूले मात्रै हुँदैन । ठुलो स्पेस हुँदैमा पाँच तारे हुँदैन । गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ । महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यावसायीहरूलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नुभएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला । सुधारात्मक बाटोमा लैजानका लागि महानगरले काम गर्दैछ । महानगरले व्यावसायीहरूको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’’

उहाँले महानगरले व्यावसायीहरूकाे व्यापार व्यावसाय सहजीकरणका लागि काम गरिरहेको बताउनु भयो ।