साधन घर्ती
म्याग्दी (दरबाङ), पुस २७ गते। म्याग्दीको बेनी नगरपालिका-४, बाँस्कुनाका नरबहादुर केसीले केही वर्ष अघिसम्म सुन्तला बेच्न आफै बजार धाउन र व्यापारी खोज्नुपर्ने बाध्यता थियो। सुन्तला बेचेर वार्षिक लाखौं रुपियाँ आम्दानी गर्ने केसी आफै बजार धाउने र व्यापारी खोज्नुपर्दा उचित मूल्य पाउन समेत मुस्किल थियो। तर, अहिले व्यापारी गाउँमै आएर बगानबाटै सुन्तला खरिद गर्न थालेपछि केसी मात्र नभई यहाँका कृषकलाई सहज भएको छ।
केसीले यसवर्ष सात रोपनी क्षेत्रफलमा लगाएको सुन्तला बगानलाई ठेक्कामार्फत् आठ लाख रुपियाँमा काठमाडौँका व्यापारीलाई बिक्री गर्नुभएको छ। यसवर्ष वडा नम्बर चारका बाँस्कुना, थामडाँडा, सुर्केमेला लगायत गाउँबाट गरेर मात्र दुई करोड बढीको सुन्तला उत्पादन हुने अनुमान छ। अहिले मूल्य वृद्धि भएको छ। गत वर्ष प्रतिकेजी असी रुपियाँमा बिक्री भएकोमा यस वर्ष कृषकले बोटबाटै ८५ रुपियाँमा बेचेका छन्। केही किसानले प्रति क्यारेट १६ सय रुपियाँका दरले समेत बिक्री गरेका छन्।
बगानमा बोट गनेर ठेक्का मार्फत र क्यारेट सिस्टममा सुन्तला खरिद गर्ने गरिएको धादिङबाट आउनुभएका व्यापारी वीरबहादुर तामाङले बताउनुभयो। आफूहरुले खरिद गरेको सुन्तला पोखरा बजारमा बिक्री गरिने बताउनुभयो। जिल्लामा उत्पादित अधिकांश कृषकका सुन्तला व्यापारीले बगानबाटै सुन्तला खरिद गर्ने गरेका छन्।
यस वर्ष म्याग्दीमा सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। कृषकलाई वडा, नगरपालिका र कृषि ज्ञान केन्द्र कार्यालयले अनुदानमा उपकरण र तालिम समेत प्रदान गर्दै आएका छन्। नगरपालिकाको वडा नम्बर ३,४ र ९ वडा सहित जिल्लाका मालिका, अन्नपूर्ण, धवलागिरी, मङ्गला र रघुगङ्गाका केही वडामा सुन्तला खेती हुँदै आएको छ। पछिल्लो म्याग्दीमा कृषक व्यावसायिक सुन्तलाखेतीतर्फ आकर्षित हुन थालेका छन्।