• २७ पुस २०८१, शनिबार

पाँचपोखरीलाई हुस्सुले अँगालो हालेपछि

blog

झरीकै बिच निस्कने निर्णय गर्‍यौँ । सरसामानले भरिएका झोला भिर्‍यौँ । त्यसलाई पनि छोपिने गरी बर्सादी लगायौँ । बाइक स्टार्ट गरेर काठमाडौँबाट साँझ ६:३० बजे ‘जे पर्ला देखा जाएगा’ भन्दै पाइला चाल्यौँ । अगाडिका केही दिन जान चाहेको लक्ष्यसम्म पुग्न हजारौँ पाइला चाल्नु त जो छँदै छ । काठमाडाैँमा अलि अलि उज्यालो बाँकी थियो । झरी सिमसिम परिरहेको थियो । हामी आज मेलम्चीसम्म पुग्छाैँ भन्ने आँटका साथ अगाडि बढिरहेका थियौँ । यसअगाडि नगएको गन्तव्य भएकाले हामी कताबाट जाँदा उपयुक्त 

हुन्छ ? भन्ने कुरामा समेत अन्योलमा थियौँ । साँखु कताबाट जाँदा ठिक हुन्छ ? यो बाटोबाट साँखु पुगिन्छ दाइ ? साँखु कति टाढा छ ? बेला बेलामा बाइक रोक्दै बाटोमा भेटिएकालाई सोध्दै अघि बढ्यौँ ।  एक जना दिदीलाई बाटोमा भेट्यौँ । उहाँले 

‘अब ४५ मिनेटमा तपाईंहरू मेलम्ची पुग्नुहुन्छ भाइ’ भन्नुभयो । बाटो ओरालो हुँदै गइरहेको थियो । टिप्पर हिँडेको बाटो भएकाले बाटोमा माटोको खाल्टाखुल्टी छिचोल्दै हिँडिरहेका थियौँ । अब मेलम्ची पुग्न धेरै समय छैन भन्ने अनुमान लगाउँदै अगाडि बढ्दै गर्दा पुनः झरी पर्न थाल्यो । अलमलिएर हो वा बाटो भुलेर हो एक घण्टाभन्दा बढी समय बितिसक्दा पनि हामी मूलबाटोमा पुगेका थिएनौँ । 

अचानक माथिबाट पहिरोले बगाएर ल्याएको लेदोमा हाम्रो बाइकको पाङ्ग्रा आधा जति फस्यो । बाइक न अगाडि बढिरहेको थियो न पछाडि, म हत्तपत्त ओर्लिए, खुट्टा आधा आधा हिलोमा गाडिएको थियो । झोला अलि पर राखेर म भाइ र बाइकलाई तान्न पुगेँ, दुई जनाले नै तानेपछि बल्ल बल्ल हिलोमा आधा गाडिएको बाइक  पछाडि ल्याउन सक्यौँ । 

अब अगाडि बढ्ने कि पछाडि फर्कने होला त ? माथिबाट झरिरहेको पहिरो र तल सुसाइरहेको मेलम्ची खोलाका बिच हाम्रो मुटुको धड्कन धड्किरहेको थियो । 

बाइकलाई त्यसै रोकेर हामी पहिरो र हिलोको अवस्था हेर्न अलि अगाडि गएर विचार गर्दै थियौँ । माथिबाट हामीतर्फ नै गडगडाउँदै ठुलो ढुङ्गा खसेको आवाज आयो । म आमा नी.. भन्दै अन्यासै आत्तिएर बाइकतर्फ हुत्तिएछु, भाइ भने उता विपरीततर्फ भागेछ । यसरी हामी एउटा ठुलो ढुङ्गाले लाग्नबाट बचेछौँ । अलि हिलोको गडगडाहट कम भएपछि भाइ म भए तिर आयो । 

त्यसपछि अगाडि बढ्ने कि पछाडि हट्ने भन्ने दोसाँधमा झनै हामी फस्यौँ । नजिकै घर होटेलहरू केही पनि देखिरहेका थिएनौँ । यो अन्योलका बिचमा हामीले हामीलाई नै अनेकौँ प्रश्न गर्‍यो । के हामीले हिँडेको साइत ठिक थियो ? के झरीमा यात्रा थाल्नु ठिक थियो ? बिहान थाल्नुपर्ने यात्रा साँझमा थाल्नु ठिक थियो ? यस्तै प्रश्नहरूका बिच हामीले चुपचाप बाइकलाई फर्काउनुको विकल्प देखेनौँ । 

फर्कंदै गर्दा बाहुन्ने पाटी भन्ने ठाउँमा एउटा होटेल देख्यौँ । भिन्तुना नामको उक्त होटेल देखेपछि अब बास बस्न पाइएला कि भन्ने आस बढ्यो । होटेल बन्द थियो । होटेलको चारैतिर हेर्‍यौँ । त्यहाँ कुनै सम्पर्क नम्बरसहितको बोर्ड थिएन । ढोकामा बजाउन घन्टी पनि थिएन । हामी होटेलमा च्याएको नजिकैको अर्काे घर भएका दाजुले देखे । उनले पनि होटेलभित्र कोही छ कि भनेर बोलाउने प्रयास गरे । जति प्रयास गरे पनि कोही पनि नबोलेपछि उनले उक्त होटेलका सञ्चालकको नम्बर खोजे । बल्ल सञ्चालकसँग सम्पर्क भयो । अनि उनले होटेलभित्र सुतिसकेका आफ्ना स्टाफलाई फोन गरे । यसरी राति बाहुन्ने पाटीको भिन्तुना होटेलको ढोका खुल्यो र पहिलो दिनको विश्राम गर्न पायौँ । भोलिपल्ट मेलम्चीको पुलमा पुगेर हेर्दा डरलाग्दो पारामा मेलम्ची खोला गडगडाइरहेको थियो । 

केही बेरको यात्रापछि हामी छिम्त पुग्यौँ । त्यहाँ तिन दिन बराबरको तीन सय तिरेर बाइक राख्ने सुविधा रहेछ । बाइकलाई छाडेर हामी अब पैदलमार्फत गन्तव्यतर्फ लाग्यौँ । 

अलि अलि उकालो अलि अलि तेस्रो बाटो पार गर्दै हामी ६:३० बजेतिर तागुखोला भन्ने ठाउँमा पुग्यौँ । समुद्र सतहदेखि दुई हजार ८९३ मिटरको उचाइको उक्त पुल पार गरेपछि उकालो ठाडो बाटो पार गरेर चार हजार दुई सय मिटरको उचाइतर्फ लाग्नुपर्ने थियो ।  हामी पुग्दा पाँचपोखरी पूरै बादलले ढाकिएको थियो । चिसोले हात ठिहि¥याइरहेको थियो । त्यहाँ करिब २०/२५ जना बस्ने सुविधासहितका होटेल भएता पनि एउटा मात्रै होटेल खुलेको थियो । यहाँका सबै होटेल मिलेर पालैपालो खोल्ने नियम बनाएका रहेछन् । आज एउटाको पालो सकिएपछि भोलि अर्काे खुल्ने रहेछ । सोही नियम अनुसार हामीले आज खुलेको होटेलमा पुगेर हाम्रा भिजेका कपडा फेर्‍यौँ । अनि न्याना र बाक्ला कपडा लगायौँ । टाउकोमा टोपी लगायौँ तर हातमा पन्जा ल्याउन छुटाएकोमा पछुतायौँ । यसरी हामी चिसो महसुस गरिरहँदा हामी बस्ने होटेलका सञ्चालक हामीसहित करिब ३० जनालाई खाना, तातोपानीलगायतको व्यवस्था गर्न कट्टु र गन्जी लगाएर दौडधुप गरिरहेका थिए । हामीलाई चिसो यति धेरै महसुस भयो कि कतिखेर तातो भात खाएर न्यानो ओछ्यानमा पुगौँ झैँ भयो । 


चौथो दिनको बिहानसँगै सुतेकाभन्दा छिटो उठेका थियौँ किनभने बिहान सबेरै उठेर दृश्यावलोकन गर्ने अग्लो ठाउँमा नपुगे फेरि एक घण्टापछि बादलले सबै ढाक्छ भन्ने कुरा हामीले हिजै थाहा पाएका थियौँ । बिहान हामी जुरुक्क उठेर निस्कँदा टाढा कतैबाट चराले चिरबिर आवाज निकालेको सुनिएको थियो । हिजोको तुलनामा चिसो निकै कम थियो । न्यानु महसुस भइरहेको थियो ।  इन्द्रावती नदीको उदमस्थल रहेको यहाँका पाँच पोखरी भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड निकै शान्त र मनोरम थिए । वरिपरि ससाना पहेँला, निला र विभिन्न रङ्गका फूल फुलिरहेका थिए । हामी अगाडि बढ्दै गर्दा हामी गएतर्फ नै जाँदै गर्नुभएको स्थानीय गयाल्पा लामालाई भेट्यौँ । उहाँले हामीलाई सुनपाती नामको एउटा जडीबुटी पनि चिनाइदिनुभयो । जसको फूललाई चियामा हालेर खाने हो भने मान्छेको आयु एक वर्ष बढ्ने मान्यता रहेको बताउनुभयो । अनि यहाँ रहेको शिव भगवान्को मन्दिर र पोखरीको महत्व पनि सुनाउनुभयो ।  २३२५ वर्षअगाडि बुम्बा रुवा वाइबा सिकार खेल्दै यहाँ आइपुग्नुभएको रहेछ । उहाँले अचानक यहाँ धान खेती गरिरहेका केही मान्छे देख्नुभएछ । यस्तो अग्लो र हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला त ? भनेर नजिकै जाँदा उहाँहरू सबै जना हाल शिवको मन्दिर रहेको ठाउँमा विलिन हुनुभएछ । उहाँहरूलाई देखेर पक्कै पनि उहाँहरू भगवान् महादेव र उहाँका देवगण हुनु पर्छ भन्ने महसुस भएछ । अनि उहाँहरू अलप भएको ठाउँमा आफूसँगै गएको सिकारी कुकुरको घन्ट झुन्ड्याएर मन्दिरको स्थापना गर्नुभएको रहेछ । हिन्दु तथा बौद्ध धर्म मान्नेले विशेष रूपमा तीर्थस्थल मान्ने भए पनि संसारका सबै धर्म मान्नेहरूले मान्न सक्ने र सबैको हित गर्ने तीर्थस्थलका रूपमा यो स्थान परिचित रहेको गयाल्पा लामाले बताउनुभयो । उहाँका अनुसार यहाँ पुगेका जो कोहीले चोखो मनले आफूले चिताएको एउटा मात्रै कुरा माग्ने हो भने भविष्यमा त्यो पूरा हुने गरेको यहाँ आउनेहरूको विश्वास रहेको छ । यहाँको मन्दिरलाई भगवान् शिवको शिर, पशुपतिलाई मुटु र केदारनाथ, बद्रीनाथलाई उहाँको खुट्टाका रूपमा हिन्दु धर्ममा मानिने गरेको समेत उहाँले बताउनुभयो । शिवको शिरमा सधैँ गङ्गा बगेको हुन्छ । समुद्र सतहदेखि चार हजार दुई सय मिटरको उचाइको पहाडमा रहेको यहाँको मन्दिर रहेको ठाउँबाट मूल बगिरहेको छ । यो बनोटलाई हेर्दासमेत यहाँ भगवान् शिवको बास रहेको विश्वास गर्न सकिने उहाँले बताउनुभयो । 

उहाँसँग कुरा गर्दागर्दै हामी यहाँको सबैभन्दा अग्लो ठाउँमा पुग्यौँ । हामी पुग्दा नजिकै देखिने जुगल हिमाल मुस्कुराइरहेको थियो । सूर्य बिस्तारै उदाउने तरखरमा थियो ।  

Author

कृष्ण चन्द्र बञ्जारा