दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस २६ गते । पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि करिब १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
नारायणी सिँचाइ ब्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख मनोजप्रसाद पटेलका अनुसार भारतले नहरको सुरुको बिन्दुबाट पुस १५ गते छाडेको पानी पर्सा बारा हुँदै रौतहटको १३ नम्बर ब्लकसम्म पुस १९ गते पुगिसकेको थियो ।
सुरुमा कुनै घटना दुघर्टना नहोस् भनी नहरमा धेरै कम पानी छाडिने त्यसपछि विस्तारै बढाएर आठसय ५० क्यूसेक पानी नेपाललाई भारतले दिने सम्झौता रहेको उहाँले बताउनुभयो । अहिले भारतले छाडेको पौने पाँचसय क्युसेक पानी नहरमा आइरहेको नारायणी सिँचाइ ब्यवस्थापन कार्यालय वीरगञ्जका इन्जिनियर सुरेशप्रसाद साहले बताउनुभयो ।
पर्सादेखि रौतहटसम्म ८१ किलोमिटर लामो करिब ३७ हजार ४०० हेक्टर जग्गा सिँचाइ क्षमता रहेको गण्डक नहरको सिँचित क्षेत्रमा गरिएको करिब २० हजार हेक्टरमा लगाइएको गहुँबालीमा नहरको पानी समयमै आएपछि सिँचाइको लागि सहज भएको हो ।
नहरमा भारतले धान बालीको लागि असार १५ देखि कात्तिक १५ सम्म र गहँु बालीको लागि पुस १५ देखि फागुन १५ सम्म ८ सय ५० क्यूसेक पानी छाड्ने सम्झौता रहेको छ ।
अहिले किसानहरुले खेतमा लगाएको गहुँबालीमा सिँचाइका लागि पानीको आवश्यकता छ । नहरको पानीले नहरको दक्षिणतर्फका किसानहरूले बालीमा सिँचाइ गर्ने गरेका छन् । बिगतका बर्षहरूमा भारतले गण्डक नहरमा समयमै पानी नछाड्दा किसानहरु गहुँबालीको लागि पम्पीसेट, वोरिङ्गबाट महङगो सिँचाइ गर्न बाध्य थिए । तर यसवर्ष समयमै नहरमा पानी आएपछि किसानहरुका लागि पम्पसेट, वोरिङ्गबाट महङगो सिँचाइ गर्नुपर्ने बाध्यता हटेको छ । यसपाली केही दिनदेखि चिसो बढेर परेरको शितले गहुँबालीलाई फाइदा गरेको किसानहरू बताउँछन् ।