• २६ पुस २०८१, शुक्रबार

‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल

काठमाडौँ, पुस २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा  ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सिनामङ्गलस्थित विभागमा शुक्रबार आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गर्नुभएको हो । 

सचिव अर्यालले समस्या समाधानका लागि विभागका महानिर्देशक र सहसचिवको समिति बनाउन निर्देशन दिनुुभयो । “यस्ता विषयलाई सधैँभरि अनिर्णयको अवस्थामा राखिरहनु हुँदैन । कुन तहको समिति बनाएर समाधान गर्न सकिन्छ, त्यसबारे सोचौँ । विभागका महानिर्देशक वा सहसचिव बसेर भए पनि यो विषयलाई टुङ्गोमा पुर्‍याउनुपर्छ”, उहाँले भन्नुभयो ।  

सचिव अर्यालले विभागलाई अनुगमनका कार्यक्रम थप प्रभावकारी बनाउन अनुरोध गर्दै विभागले तय गरेका वार्षिक कार्यक्रम तोकिएको समयमै पूरा गर्न, सम्बन्धित ऐन,  निर्देशिका, कार्यविधि समसामयिक बनाउन सुझाव दिनुभयो । रासस