प्रवीण कुमार शर्मा
रौतहट, वैशाख १२ गते । मालपोत कार्यालय गौर मार्फत सरकारलाई राजस्व बुझाउन आएका सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । मालपोत कार्यालय गौरले राजस्व बुझाउनका लागि सहज नबनाएपछि सेवाग्राहीले दिनभर धाएर बैङ्क पुग्नुपर्ने सास्ती खेप्नुपरेको हो ।
बजारमा दर्जानौ बैङ्क भए पनि ती बैङ्कसँग एउटा काउन्टर सञ्चालनको माग राख्न नसक्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै तत्काल यो व्यवस्था गर्न माग गरेका छन् । दैनिक ५० देखि सय जना सेवाग्राही मालपोत कार्यालय पुगेर सास्ती भोग्दै आएको नागरिक समाजका अध्यक्ष विजय किशोर झाले बताउनुभयो । कार्यालयका हाकिम सेवाग्राहीको सहजताका लागि कुनै पनि चासो नदिएको उहाँको आरोप छ । बैंंकसँग अनुरोध गरे एक मिनेटमा हुने कामलाई यहाँका कर्मचारीले बेवास्ता गरेको उहाँको भनाइ छ ।
राज्यलाई राजस्व बुझाउने व्यवस्थामा बेवास्ता गर्ने हाकिमलाई सरुवा गरेर सक्षम हाकिम पठाउनुपर्ने स्थानीयको माग छ । मालपोत कार्यालयको कम्पाउन्डभित्र नै नापी कार्यालय पनि छ सँगै जिल्ला अदालत पनि तर बैङ्क भने टाढा छ ।
दुर्गा भगवती वडा नं. २ का रामचन्द्र दासका अनुसार कार्यालयमा बैङ्कको एक्सटेन्सन काउन्टर नहुँदा आफूलाई १० धुर जग्गा आफ्नो नाममा रजिस्ट्रेसन गराउन २ दिन लागेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “खरिद गरेको जग्गा पारित गराउन सबै प्रक्रिया पूरा गर्दा गर्दै ४ बज्यो , मालपोत दस्तुर जम्मा गर्न बैङ्क जाँदा बैङ्क प्रवेश गर्ने ढोका बन्द भइसकेकोले राजस्व जम्मा गर्न पाइएन , त्यही कारण भोलिपल्ट आएर काम गराउनु पर्यो ।”
अर्का सेवाग्राही गौर वडा नं. २ का महदेव पासवानको पनि समस्या उस्तै छ । उहाँ कृषि कर्जाको लागि बैकमा जग्गा धितो राखेर ऋण लिने प्रयोजनको लागि आफ्नो जग्गा दृष्टि बन्धक गराउन मालपोत कार्यालय पुग्नुभयो । अन्य काम भए पछि रोक्का दस्तुर बुझाउन बैङ्कमा लामो लाइन बसेर राजस्व रकम बुझाइ फर्किदा मालपोत कर्मचारी कार्यालय समय सकेर घर गइसक्नुभएको थियो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “गौरकै सेवाग्राहीलाई गौरमै रहेको कार्यालयबाट एउटा सेवा लिन दुई दिन लाग्यो ।”
तर मालपोत कार्यालयका प्रमुख धर्मराज रोकायाले भने राष्ट्रिय वाणिज्य बैङ्कसँग अनुरोध गरे पनि सुनुवाइ नगरेको बताउनुभयो । राजस्व दाखिला गर्न सेवाग्राहीलाई दुःख दिनुमा बैङ्कको भूमिका रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैङ्क गौरका शाखा प्रबन्धक सुनिल भण्डारीले भने काउन्टर राख्न केन्द्रमा प्रस्ताव राखेको बताउनुभयो ।