• १२ वैशाख २०८२, शुक्रबार

वन्यजन्तुमैत्री राजमार्ग नहुँदा सधैँ दुर्घटना

blog

ज्योति पन्थी

बबई (बर्दिया), वैशाख १२ गते ।   बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बन्न नसक्दा बर्सेनि दुर्घटनाको जोखिम बढ्दै जान थालेको छ । वन्यजन्तुमैत्री राजमार्ग नहुँदा सवारी चालकले जोखिम मोलेर सवारी साधन चलाउनुपर्ने बाध्यता छ भने वन्यजन्तुलाई समेत राजमार्ग क्षेत्रमा जोखिम बढ्दै गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको रम्भापुर सैनवार अन्तर्गतको १५ किलोमिटर र आम्बासा चिसापानी सडक १५ किलोमिटर राजमार्गको क्षेत्र छ । उक्त सडकखण्डमा निश्चित समय दिएर पार गर्नुपर्ने दुरी (टाइम कार्ड) लागु गरिएको छ । त्यस क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी चलाउन पाइन्छ भने २२ देखि २७ मिनेटभित्रमा उक्त दुरी पार गर्नुपर्ने नियम भए पनि वन्यजन्तु दुर्घटनामा पर्ने क्रम रोकिएका छैनन् । 

साँघुरो सडकमा वन्यजन्तु ओहोरदोहोर गर्दा दुर्घटनाको क्रम नरोकिएको हो । निकुञ्जको तथ्याङ्कलाई अनुसार आव २०७५/७६ देखि चालु आवको चैत मसान्तसम्ममा सडक दुर्घटनामा परेर २४० वन्यजन्तुको मृत्यु भएको छ  । 

संरक्षणका लागि राजमार्गमा हुने विभिन्न क्रियाकलापले संरक्षणको चुनौती थपिँदै गएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । पौडेलका अनुसार निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले समयसीमा तोकेर निकुञ्ज क्षेत्रको राजमार्गमा यात्रा गर्न अनुरोध गरे पनि वन्यजन्तुको दुर्घटनाको क्रम भने रोकिएको छैन ।

पूर्वपश्चिम राजमार्गलाई सरकारले विस्तार गर्न सुरु गर्दा नै वन्यजन्तुमैत्री सडक निर्माणमा ध्यान दिन जरुरी रहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले बताउनुभयो । 

राजमार्ग सानो हुँदा र समयसीमा तोकेर सवारी आवागमन गर्दा पनि सवारी साधनमा वन्यजन्तु ठोक्किन पुग्छन् भने अब निर्माण हुने राजमार्गमा अन्डरपास र ओभरपासको परिकल्पना गरी वन्यजन्तुमैत्री राजमार्ग निर्माण गर्न जरुरी रहेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताउनुभयो ।

निकुञ्ज क्षेत्रमा पर्ने सडकमा वन्यजन्तु सवारी साधनमा ठोक्किँदा चालक नै दोषी देखिने गर्छ । राजमार्ग नै वन्यजन्तुमैत्री हुन नसक्दा सवारी चालकले समेत अनाहकमा थुनामा बस्नुपर्ने अवस्था छ भने चालकका परिवारसमेत बिचल्लीमा पर्ने गरेको कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष रवि मल्लले बताउनुभयो ।

पृथ्वी वन्यजन्तुको पनि साझा घर भएकाले उनीहरूको वासस्थानसमेत सुरक्षित हुने गरी बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्वपश्चिम राजमार्गलाई वन्यजन्तुमैत्री राजमार्ग निर्माण गर्नुपर्ने जरुरी रहेको संरक्षणकर्मी कृष्ण भट्टराईले बताउनुभयो ।