बुटवल समाचारदाता
बुटवल, वैशाख १२ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हरेक वर्ष ५० हजारका दरले सेवाग्राही थपिँदै गए पनि सेवा दिने जनशक्ति बढ्न सकेको छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले सेवाग्राहीको चाप र सेवा उपलब्ध गराउने जनशक्तिबिच ठुलो खाडल रहेकोले सेवा दिन समस्या पर्दै गएको जानकारी दिनुभयो । उहाँले वार्षिक औसत ५० हजारका दरले सेवाग्राहीको चाप बढ्दै गए पनि सोही अनुपातमा सेवा दिने जनशक्ति थप व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या रहेको बताउनुभयो । उहाँले अस्पतालमा स्वास्थ्य बिमाको सोधभर्ना समयमै नहुने, बिरामीको चाम अनुसार प्राविधिक जनशक्तिको उपलब्धता नहुनु, विपत् व्यवस्थापनको चुनौती, कर्मचारी कक्षको अभाव, ओपिडी डाटा रेकर्डिङमा समस्या तथा बिरामीको चाप अनुसार शय्याको अभावलगायतका समस्या अस्पतालका चुनौती रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव समितिले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाहबारे गरेको अनुगमन तथा छलफलका क्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढकालले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा बोल्दै सुझाव समितिका संयोजक लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अस्पतालमा वार्षिक रूपमा सेवाग्राहीको चाप बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै अस्पतालप्रति जनताको विश्वास बढ्दै गएकोले सरकारले जनशक्ति थप गर्नुपर्ने बताउनुभयो ।