• २९ फागुन २०८१, बिहिबार

चिसो बढेपछि कोहलपुरका विद्यालय चार दिन बन्द

blog

पश्चिम नेपालको केन्द्रविन्दु मानिने कोहलपुर । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २६ गते । शीतलहर र चिसो अत्यधिक बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

केही दिनयता बढ्दै गएको अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेमगरले दिनुभएको जानकारी अनुसार शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि २९ गतेसम्म लागि पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । उहाँले चिसोले बालबालिकाहरु प्रभावित भएको अभिभावकले जानकारी गराएर बिदा दिनुपर्ने माग गरेकोले हालका लागि चार दिन सबै विद्यालय बन्द गरिएको जनाउनुभयो । 

अत्यधिक चिसोका कारण पुस २५ गते बालबालिकाहरूलाई पर्याप्त गृहकार्य दिएर चिसोबाट सचेत रहन जानकारी गराई बिदा गरिएको कोहलपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । सोही प्रकारले जिल्लाका अन्य पालिकाहरुमा पनि विद्यालय बन्द गर्नुपर्ने माग अभिभावकले गरेका छन् । 

केही दिनयता चिसो अत्यधिक बढेकोले बालबालिकालाई विद्यालय पठाउन समस्या भएको जनाउँदै विद्यालय केही दिन बन्द गर्नु पर्ने माग अभिभावकको छ । बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गर्नुपर्ने अधिकांश अभिभावकको माग रहेको शिक्षा बिभिन्न पालिकाका शिक्षा शाखाले जनाएका छन् । 

बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्यधिक बढ्दा केही दिनयता यहाँका सबै पालिकाको जनजीवन अति नै कष्टकर बन्दै गएको छ । सोही कारणले नेपालगन्जको राँझा विमानस्थलबाट हुने उडानहरु पनि अनियमित हुन थालेका छन् । चिसोले गर्दा जिल्लाका प्रमुख बजारहरुमा मानिसहरुको चहलपहल पनि निकै घटेको छ ।