सिराज खान
नेपालगन्ज, पुस २६ गते । हाल सुरु भएको शीतलहरबाट बाँके जिल्लामा एक लाख ७८ हजार जनसङ्ख्या प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
सो समितिले तयार पारेको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ मा बाँके जिल्लाका आठवटा पालिकामा ३५ हजार ७८० परिवारका एक लाख ७८ हजार ९२० जना बढी प्रभावित हुने आँकलन गरेको हो । शीतलहरबाट उनिहरुलाई जोगाउन सुरु गरिएको समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।
उहाँले जिल्लामा रहेका एक लाख ३२ हजार ५२० परिवारमध्ये ३५ हजार बढी परिवार शीतलहरको उच्च जोखिममा रहेको पाइएको जनाउँदै सोही बमोजिमको प्रतिकार्य योजना बनाइएको जानकारी दिनुभयो ।
शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ का अनुसार बाँकेमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरका आठ हजार ५२४ परिवारभन्दा बढी प्रभावित हुने देखिएका छन् भने सबैभन्दा कम खजुरा गाउँपालिकाका तीन हजार १९३ परिवारभन्दा बढी प्रभावित हुने देखिएका छन् ।
सोही प्रकारले नरैनापुर गाउँपालिकाका चार हजार ४२६, डुडुवाका चार हजार २१८, कोहलपुर नगरपालिकाका चार हजार १३८, जानकीका तीन हजार ८८९, राप्तीसोनारीका तीन हजार ८७२ र बैजनाथ गाउँपालिकाका तीन हजार ५२० परिवार शीतलहरबाट बढी प्रभावित हुने देखिएको जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
उहाँले शीतलहरबाट प्रभावितको उद्धार, राहात र उपचारका लागि सबै तयारी पूरा गरिएको जनाउँदै त्यसका लागि जिल्लाका सबै पालिकालाई पनि जिम्मेवारी दिइएको बताउनुभयो ।
शीतलहरबाट सर्वसाधारणलाई जोगाउन दाउरा वितरणदेखि न्यानो लुगा वितरण र स्वास्थ्य उपचारसम्मको तयारी गरिएको तथा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र विपद् व्यवस्थापन समितिहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको समितिले जनाएको छ ।
पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण बाँकेको जनजीवन अत्यधिक प्रभावित भएको छ ।
बाक्लो हुस्सु र शीतलहरले जिल्लाका सबै पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् झन् बढ्दै गएको छ । चिसोका कारण बच्चा, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसहरूलाई घरबाहिर निस्किन कठिनाइ भइरहेको छ ।