• २६ पुस २०८१, शुक्रबार

पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना

blog

पर्वतमा स्थापना गरेको छिपु कम्पनीको चुत्रो प्रशोधन केन्द्र । तस्बिर: प्रनिस

पर्वत, पौष २६ गते । पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।

करिब सात महिना पहिलेदेखि प्रशोधन केन्द्र स्थापनाको काम थालेको कम्पनीले भौतिक संरचना निर्माण तथा प्राविधिक कार्य पुरा गरी अबको केही हप्ता भित्रमा नै प्रशोधन कार्य गर्ने जनाएको छ । कम्पनीको स्थानीय प्रतिनिधि दीपेन्द्र बहादुर भण्डारीका अनुसार कम्पनीले म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जा लगायतका जिल्लाहरूबाट गैहकाष्ठ वनपैदावर अन्तर्गत पर्ने चुत्रोको सङ्कलन गरिने छ । चुत्रोको जरा, हाँगा र डाँठ ल्याएसँगै प्रशोधनको काम हुन्छ । प्रशोधित गरी पठाइएको धुलोको औषधीजन्य पदार्थमा मिश्रण गरी पेनकिलर, सुगर रोग लगायतको औषधि बनाइने बताइएको छ । 

चुत्रोको कच्चापदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै कम्पनीसम्म ल्याइ पुराउनु पर्नेछ । कम्पनीले प्रति केजी २० रुपैयाँका दरले कृषकहरूसँग चुत्रोको कच्चा पदार्थ र प्रति केजी ८ रुपैयाँका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्च भन्दा माथि जति पनि हुन सक्छ ।

छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरि कुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले कच्चा पदार्थ मात्रै तयार गर्दछ । तयारी पदार्थको उत्पादन हुँदैन । सूचना अधिकारी श्रेष्ठले वैदेशिक लगानी भन्दा साथै धेरै हाउगुजीको रूपमा लिन नहुने भन्दै भन्नुभयो–चुत्रो भनेको यहाँ कामै नलाग्ने काँडे झाडीको रूपमा लिइएको पदार्थ हो । यो यसै प्रशोधित हुँदैन । यसका लागि नुन, पानी र सल्फिड एसिडमा कच्चा पदार्थ केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । औषधि नै तयार पारेर यहाँ दिने हैन । धुलो मात्रै बनाएर निकासी गर्ने हो । उद्योग विभागबाट स्वीकृत भएका कामदार ३० जनाको छ भने अहिले ७ जना कार्यरत छन् ।

कम्पनीले पहिलो पटक १२ सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको बताइएको छ । सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी संम्भवत नेपालमै पहिलो भएको दाबी गर्नुभएको छ । वन ऐन र नियमावली अनुसार सामुदायिक वनमा बाटोको समस्या र सरकारी वन कार्य योजनामा रहेका केही कठिनाइले प्रशोधन केन्द्र सञ्चालनमा चुनौती रहेको कम्पनीका सूचना अधिकारी श्रेष्ठको गुनासो छ ।

जिल्ला वन डिभिजन कार्यालय पर्वतका वन अधिकृत राम बहादुर विकले गैहकाष्ठ वनपैदावर अन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले विक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउँदै भन्नुभयो–पर्वतमा चुत्रो  १ हजार मिटर उचाइदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ । बाँझो बन्दै गएका व्यक्तिगत खर वारि, पाखो यत्रतत्र पाइन्छ । चुत्रो जातका वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्था छ । चुत्रोको उत्पादन एक पटक मात्रै गर्ने नभई पुर्नउत्पादनका लागि काँटछाँट गर्ने र फैलाउने तर्फ ध्यान दिन आवश्यक छ।ू

वन अधिकृत विकका अनुसार सरकारी वनको कार्य योजनामा कहिकतै चुत्रोबारे नामोनिशान उल्लेख नभएको हुँदा खरिदबिक्रीका लागि पुर्जी जारी गर्न सकिनै छैन । चुत्रो उत्पादन र विक्री केवल सामुदायिक वन र निजी पाखोवारिबाट हुनेछ । पञ्चवर्षीय सरकारी वन कार्य योजनामा समेत गैहकाष्ठ पैदावार अन्तर्गत पर्ने वनस्पति चुत्रोबारे केही उल्लेख गरिएको छैन । चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी समेत गरिएको छैन ।

चुत्रोको दुई खाले वनस्पति पाइन्छ । लेकाली भेगमा अलि अग्लो जमाने मान्द्रो नामको चुत्रो हुन्छ भने पहाडी तल्लो भेगमा अलि होचो र झाडीदार हुन्छ जसलाई चुत्रो नै भनिन्छ । चुत्रो जराबाट सर्छ भने फलबाट पनि उम्रन्छ । 

Author

प्रनिश गिरी