वालिङ समाचारदाता
वालिङ, पुस २६ गते । स्याङ्जाका स्थानीय तहले बचतकर्ताको रकम फिर्ताका लागि चासो देखाएका छन् । बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै गुनासो गरेपछि स्थानीय तहहरूले सक्रियता देखाएका हुन् । स्थानीय तहका मातहतमा रहेका सहकारीको नियमन गर्ने जिम्मा स्थानीय तहलाई नै रहेको छ । यही अधिकारको प्रयोग गर्दै आवश्यक कार्य अगाडि बढाएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
११ पालिका रहेका स्याङ्जामा सबैभन्दा धेरै सहकारी वालिङ, पुतलीबजार र गल्याङमा रहेका छन् । वालिङ नगरपालिकाले पालिका सहकारीहरूको अवस्था पहिचानका लागि आन्तरिक समिति गठन गरेको छ । समितिले सहकारीहरूको अवस्था र बचतकर्ताले बचत फिर्ता नपाउनुको कारणबारे खोजी गरिरहेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
गल्याङ नगरपालिकाले गुनासो दर्ताका लागि आह्वान गरेको छ । बचत फिर्ता नपाएकाले समयमा नै गुनासो दर्ता गर्न भनिएको सहकारी शाखाका प्रमुख थानपती न्यौपानले बताउनुभयो । गल्याङ नगरपालिकाले निकालेको सूचनामा भनिएको छ, “नगरपालिका सहकारी ऐन, २०७४ को दफा ४३ बमोजिम सहकारी संस्थामा जम्मा गरेको बचत रकम बचतकर्ताले माग गरेको अवस्थामा निजको कुनै दायित्व भए कट्टा गरी बाँकी रकम तोकिएबमोजिम निजलाई ब्याजसहित फिर्ता दिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।”
बचतकर्तालाई आफूले जम्मा गरेको रकमको पासबुक वा आवधिक बचत गरेको कागजातको प्रतिलिपि, बचतकर्ताले सहकारी संस्थाबाट बचत रकम फिर्ता माग गरेको निवेदनको प्रतिलिपीलगायतका कागजात पेस गर्न अनुरोध गरेको छ ।
यस्तै कालीगण्डकी गाउँपालिकाले सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण चुक्ता गर्न निर्देशन दिएको छ । पालिकाले सहकारी संस्थाबाट सदस्यको बचत रकम नै ऋणीलाई कर्जाका रूपमा प्रवाह हुने भन्दै आफूले लिएको ऋण तिर्न आग्रह गरेको हो ।
ऋण लिएकाहरूले ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका आधारमा ऋण चुक्ता नगरेको गुनासो आइरेहको भन्दै तत्काल ऋण भुक्तान गर्न प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले आग्रह गर्नुभयो । यदि समयमा ऋण भुक्तान नगरेमा कानुनबमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।