काठमाडौं, पुस २५ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्नुहुँदै अध्यक्ष नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताउनुभएको हो ।
त्यस्तै, उहाँले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको औंल्याउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘‘उदयपुर र डडेलधुरामा विमानस्थल चल्छ ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्याे । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरू केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरूले पनि धेरै नोक्सानी भइरहेको छ ।’’
अध्यक्ष नेपालले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको टिप्पणी गर्नुहुँदै मेरो जिल्लामा मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको जिकिर गर्नुभयो ।
विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरू दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्सान भइरहेको छ, नेपाल सरकारलाई । त्यसको निम्ती को जिम्मेवार ।’’
अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठुला बिल्डिङहरू किन बनाएको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरू बनाउँछौँ । यो बिल्डिङ नबनाइ नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भए पनि । यो अर्बौंअर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरू ठाउँमा पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला ।’’