नवराज श्रेष्ठ
रामेछाप, पुस २५ गते । रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी माघ २२ गतेदेखि २४ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ । ७ वटा वडा रहेको गाउँपालिकामा माघ २२ र २३ गते माध्यमिक विद्यालयहरू तथा तोकिएका विद्यालय केन्द्रित खोप केन्द्रहरूमा र २४ गते खोप छुटेकाहरूलाई वडास्तरीय स्वास्थ्य संस्थाहरूमा खोप लगाइने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले बताउनुभयो ।
"विश्व स्वास्थ्य सङ्गठनले पाठेघरको क्यान्सर निको पार्न प्रभावकारी र सुरक्षित मानिएको एचपीभी खोप अभियानको क्रममा विद्यालय अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका उमेरका किशोरीहरूलाई लगाउन लागिएको हो", उहाँले भन्नुभयो ।
उमाकुण्ड गाउँपालिकामा विद्यालय जाने र विद्यालय बाहिर गरी ८१७ जनाले खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख सुनुवारले बताउनुभयो । आगामी माघ २२ देखि फागुन ६ गतेसम्म १५ दिन सातै वटा प्रदेशमा सहज रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप वितरण गर्ने कार्यक्रम अन्तरगत उमाकुण्ड गाउँपालिकामा पति खोप अभियान सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो ।
चिकित्सकका अनुसार पाठेघरको मुखका कोशिकाको असामान्य वा अस्वाभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो 'ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गर्दछ ।